तातोपानी कुण्डको आम्दानी एक करोड ३७ लाख-Sutra News

तातोपानी कुण्डको आम्दानी एक करोड ३७ लाख

मंगलबार, २ साउन २०८०

मंगलबार, २ साउन २०८०
Olympus Visionary Melbourne Photographer

प्राकृतिक उपचारस्थलको रुपमा परिचित म्याग्दीको सिङ्गा तातोपानी कुण्डमा एक वर्षको अवधिमा एक करोड ३७ लाख आम्दानी भएको छ । आर्थिक वर्ष २०७९/८० मा प्रवेश शुल्कलगायत विभिन्न शीर्षकमा सो आम्दानी भएको हो ।



म्याग्दी नदीको किनारमा प्राकृतिक रुपमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी सङ्कलन गरिएको तलाउमा स्नान गरेर उपचार र अवलोकनका लागि तातोपानीमा आउने पाहुनाले तिर्ने प्रवेश शूल्क आम्दानीको मुख्य स्रोत हो । कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले भने– “बिरेनूनको गन्ध नआउने पानी सङ्कलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, वाथ, चोटपटक लागेको लगायत निको हुने गरेको छ ।” गत आर्थिक वर्षमा १८ हजार २०८ जनाले स्नान गरेका थिए ।

बिरामीले स्नान गर्ने कुण्डमा प्रवेश शुल्कबापत ६२ लाख ९७ हजार र पाहुनाले स्नान गर्ने कुण्डबाट २५ लाख ८८ हजार आम्दानी भएको छ । चन्दाबापत चार लाख सोह् हजार, मन्दिरको भेटी पाँच लाख ३० हजार, आजीवन सदस्यताबाट तीन लाख आठ हजार तथा ब्याजबाट १७ हजार आम्दानी भएको छ ।

प्रवेश शुल्क र चन्दा सहयोग बापत उठ्ने रकममध्ये २५ प्रतिशत बेनी नगरपालिका र १३ प्रतिशत आन्तरिक राजश्व कार्यालयमा कर बुझाउने अध्यक्ष खड्काले बताए । तातोपानी सङ्कलन गरिएको तलाउमा एक पटकमा ३५० देखि चार सय जनाले स्नान गर्न सक्ने क्षमता छ । सात दिन स्नानका लागि प्रतिव्यक्ति ३५० शूल्क तोकिएको छ । बिरामी र छोटो अवधि स्नान गर्नेका लागि फरक फरक कुण्ड छन् ।

अध्यक्ष खड्काका अनुसार कुण्डको आम्दानीबाट तातोपानीको सरस्वती माविका ६ निजी शिक्षकको तलबका लागि १३ लाख ६४ हजार उपलब्ध गराइएको छ । कुण्डका कर्मचारीको तलबमा ११ लाख ३३ हजार, संरचना निर्माण र मर्मतमा दश लाख ८९ हजारसहित कूल एक करोड ३६ लाख १९ हजार खर्च भएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा एक करोड १७ लाख २२ हजार, आव २०७७/७८ मा ७८ लाख एक हजार, आव २०७६/७७ मा एक करोड १३ लाख ४९ हजार, आव २०७५/७६ मा ९९ लाख ४२ हजार तथा आव २०७४/७५ मा ६५ करोड छ लाख आम्दानी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट