काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाले बैठक स्थलमै अर्का केन्द्रीय सदस्यलाई धम्की दिएकी छन्। मंगलबार बसेको केन्द्रीय समिति बैठक समापन पछि बैठकस्थलबाट बाहिरिने क्रममा सभापति शेरबहादुर देउवा पत्नी आरजूले केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीलाई धम्काएकी हुन्।
सभापति देउवाले भोलिसम्मका लागि बैठक स्थगनको घोषणा गरेपछि बैठकस्थलबाट बाहिनेक्रममा नेताहरू एकअर्कासँग भलाकुसारी गरिरहेका थिए। यही क्रममा आरजुले अजयबाबु शिवाकोटीलाई बोलाईन् | आरजुले बोलाएपछि शिवाकोटी उनी नजिक पुगे।
त्यसपछि आरजुले सोधिन्- बाहिर के-के बोल्दै हिँड्नु भएको छ हँ? शिवाकोटीले भने- के बोलेँ र ? त्यसपछि आरजु आक्रोशित बनिन् | उनले बाहिर कसले के बोल्यो भन्ने आफूले थाहा पाउने गरेको र शिवाकोटीले बोलेको कुरा पनि थाहा पाएको बताइन्।
आरजुले नक्कली भुटानी शरणार्थी प्रकरणमा शिवाकोटीले दिएको अभिव्यक्तिलाई लक्षित गर्दै आक्रोश पोखेको आशंका गरिएको छ | यो प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाण थुनामा छन्। आरजु पनि यस प्रकरणमा जोडिएको आरोप छ।
शिवाकोटी लगायत काँग्रेसका अधिकांश नेताहरुले यस प्रकरणका दोषी उम्कन नहुने बताउँदै आएका छन्। त्यही अभिव्यक्तिलाई लिएर निकै आक्रोशित बनेकी आरजुले शिवाकोटीलाई धम्काउँदै भनेकी थिइन्- मलाई सबै थाहा छ। म देखाइदिन्छु। आरजु आक्रोशित बन्दै गएपछि शिवाकोटीलाई अर्का केन्द्रीय सदस्य उमेशजंग रायामाझीले आफू तिर तानेर लगेका थिए।