खुला सिमाना : गर्भपतनसम्बन्धी अवैध औषधि खुलमखुला-Sutra News

खुला सिमाना : गर्भपतनसम्बन्धी अवैध औषधि खुलमखुला

मंगलबार, २ साउन २०८०

मंगलबार, २ साउन २०८०

भारतको बिहारसँग खुला सिमाना जोडिँदा पर्सा जिल्लामा अनधिकृत रूपमा गर्भपतनको औषधि विक्री वितरण हुँदै आएको छ।



नेपाल सरकारले देशमै सुरक्षित गर्भपतनका लागि विभिन्न १० प्रकारका औषधिलाई मान्यता दिएको छ। तर पर्साका थुप्रै निजी स्वास्थ्य संस्थामा भारतबाट अवैध रूपमा ल्याइएका औषधि बिक्री हुने गरेका छन् । यस्ता औषधि तस्करले उपलब्ध गराउँदै आएका छन्।

सरकारबाट इजाजत नलिई खुलेका स्वास्थ्य क्लिनिकमा भारबाट ल्याइएका गर्भपतनसम्बन्धी औषधि पाइन्छ। उनीहरूले लुकीछिपी बिक्री गर्दै आएका छन्। यो कार्य नियमविपरीत रहेको डाक्टरहरू बताउँछन्।

खुला सिमानाको फाइदा उठाई लुकीछिपी भारतबाट औषधि ल्याएर बिक्री वितरण भएको सुनिएको र यसबारे अनुगमन गर्ने औषधि व्यवस्था विभाग कार्यालय वीरगन्जका प्रमुख किरण बज्राचार्यले बताउनुभयो। ‘तस्करले अन्य औषधिको खोलमा समेत गर्भपतनसम्बन्धी औषधि ल्याउँछ भन्ने सुन्नमा आएको छ,’ बज्राचार्यले भन्नुभयो, ‘यसलाई कडा गर्न सिमानाकामा खटिने प्रहरी, सशस्त्र प्रहरीसित समन्वय गरी कामकारबाही अगाडि बढाइनेछ।

अवैध या अनिच्छापूर्वक बसेको गर्भ सम्बन्धित जोडीले सुरक्षित तरिकाले सरकारी स्वास्थ्य संस्थामा गएर गर्भपतन गर्ने सुविधा छ। तर अधिकांशले त्यहाँबाट सेवा नलिई निजी क्लिनिकमा गएर गर्भपतनका औषधि प्रयोग गर्ने गरेको पाइएको हो। सेवा लिन सरकारी स्वास्थ्य संस्थामा नजानुको प्रमुख कारण लाज र डर रहेको छ।

वीरगन्जका नारायणी अस्पतालमा, बगही प्राथमिक स्वास्थ्य केन्द्र, महुवन स्वास्थ चौकीलगायतका स्वास्थ्य संस्थामा निःशुल्क सुरक्षित गर्भपतनको सेवा भए पनि कर्मचारीको कमीले सेवा प्रभावित हुँदै आएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका प्रमुख नवलकिशोर साहले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट