मोरङ जिल्लाको सदरमुकाम विराटनगरबाट करिब २५ किलोमिटर पूर्व दक्षिण क्षेत्रमा अवस्थित रंगेली अस्पतालमा अवैध तथा गैरकानुनी अस्पताल समिति बनाएको भन्दै त्यसलाई खारेज गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
रंगेली नगरपालिकाका मेयर दिलीप अग्रवालले स्वास्थ ऐन मिचेर, गैरकानुनी रूपमा रंगेली जिल्ला अस्पताल समितिको अध्यक्षमा मापदण्ड विपरीत योग्यता नै नपुगेको व्यक्ति देव मणि कटुवाललाई नियुक्त गरिएको निवेदनमा दाबी गरिएको छ ।
अवैध तथा गैरकानुनी तवरले समिति बनाइएको विषयको बारेमा थप जानकारी लिन कोशी प्रदेशको स्वास्थ मन्त्रालयका प्रवक्तालाई सम्पर्क गर्न खोज्दा प्रदेश सरकारको आधिकारिक वेबसाईटमा प्रवक्ता उल्लेख भएका डा. सुरेश मेहतालाई सम्पर्क गर्दा उनले आफ्नो सरुवा भैसकेको जानकारी दिदैं नयाँ प्रवक्ता र रंगेली अस्पताल दुबैको बारेमा आफू अनविज्ञ रहेको प्रतिक्रिया दिए ।
विवादित अस्पताल समिति बनाएको आरोप लागेका मेयर अग्रवाल नेकपा एमालेबाट निर्वाचित भएका हुन्।
रंगेलीका सामुदायिक विद्यालयमा दिवा खाजाको लागि उनले आफ्नै उद्योगबाट उत्पादित सामाग्री बिना प्रतिस्पर्धा नगरको बजेटबाट खरिद गर्न लगाएको आरोप लाग्दै आएको छ ।