प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साउन ७ गते गते इटाली जाने भएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्रीको इटाली भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो ।
संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीमा आयोजना हुने ‘युनाइटेड नेसन्स फुड सिस्टम, २०२३ स्टकटेकिङ मोमेन्ट’मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड साउन ७ गते त्यसतर्फ जाने सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा कृषि तथा पशुपक्षी विकासमन्त्री डा वेदुराम भुसाललगायतको प्रतिनिधित्व रहने उनले बताइन्।
बैठकले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट तथा परिमार्जनसम्बन्धी सूचना प्रकाशन गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिएकी छन् ।
त्यस्तै बैठकले सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समितिको सदस्यमा सोही अस्पतालका चिकित्सक डा रवि मल्ललाई नियुक्त गरेको मन्त्री शर्माले बताइन्।