गत शुक्रवारदेखि देशभर प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘बगान’ हेर्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी हलमा पुगेकी छन् । सुन्धारास्थित सिभिल मलमा रहेको क्युएफएक्स सिनेमा हलमा मंगलबार राति पूर्वराष्ट्रपति भण्डारीसहित राजनीतिक दलका नेताहरु, वरिष्ठ कलाकार, साहित्यकार, विश्लेषकलगायतले बगान हेरेका हुन् ।
सरोज खनालको निर्देशनमा एकल आमा र उनले हुर्काएकी छोरीको कथामा बनेको यो चलचित्र हेरेपश्चात पूर्वराष्ट्रपति भण्डारीले चलचित्रको कथावस्तु राम्रो रहेको र समाजमा नयाँ सन्देश दिने प्रतिक्रिया दिइन् ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले जुन विषयवस्तुलाई प्रोत्साहित गर्नुपर्छ सोही विषय ‘बगान’ले उठाएको बताए ।
पूर्वमन्त्री हिसिला यमीले अभिनेत्री करिश्मा मानन्धर आफैँ पनि तमाम् महिलाहरूको लागि प्रेरणा रहेको बताउँदै उस्तै प्रकृतिको चलचित्र हेर्न पाएको बताइन् ।
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले बगान आमाछोरी नै आएर हेर्नुपर्ने बताए । ‘नारीमाथि भइरहेको अन्यायको विषय उठेको छ । समाजको लागि राम्रो सन्देश दिएको छ । जे जति देखाईएको छ, सबैको मनले स्वीकारेको छ,’ श्रेष्ठले भने, ‘महिलाहरूले सतिप्रथा जस्तो सुन्दै डरलाग्ने अन्याय पनि भोगेका थिए । अहिले पनि श्रीमान बितेपछि समाजमा जिउँदै जलेर बस्नुपर्ने बाध्यता छँदैछ । यो कथा उठाएकोमा सरोज खनाललाई धन्यवाद छ ।’
वरिष्ठ कलाकार हरिवंश आचार्यले बगानको विषय नै मुटु छुने रहेको बताए । ‘जो मानिसले एक्लो जीवन बिताउनुपर्छ उसले मुटुमा भएको कुरा छैन है भनेर बाहिर राखेर हिँड्नुपर्छ । यो विषय नै त्यस्तै छ,’ आचार्यले भने । उनले निर्देशनमा हात हालेका खनालले राम्रो काम गरेको बताउँदै नवअभिनेत्री प्रमिला कार्की र अभिनेत्री मानन्धरको तारिफ गरे ।