हरेक उत्सव तथा पर्वको अवसरमा नेपाली फिल्महरू रिलिज भइरहेकै छन् । २०७९ सालमै करिब ४ दर्जन फिल्म रिलिज भएका थिए । त्यस्तै २०८० मा पनि त्यतिनै रफ्तारमा फिल्म रिलिज भइरहेका छन् । प्रदर्शनमा छन् तर अधिकांश फिल्म हलमा एक हप्तामात्रै टिकिरहेका छन् ।
तर बैसाख १ गतेदेखि प्रदर्शनरत चलचित्र ‘जारी’ले ब्लकबस्टर व्यापार गर्दै १०० दिनको यात्रा तय गर्न लागेको छ। फिल्मले नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्समा १०० दिन मनाउने निश्चित छ । बुधबार ९७औं दिनमा प्रदर्शनरत फिल्मलाई क्यूएफएक्स चेनले यतिबेला प्रत्येक दिन १ शो दिइरहेको छ । साउन ६ गते फिल्मले प्रदर्शनको १०० दिन मनाउनेछ ।
विदेशी भूमिमा समेत आक्रामक कमाई गरेको फिल्मले सोमबार दार्जिलिङमा प्रदर्शनको ५१औं दिन मनाएको छ । उपेन्द्र सुब्बाको निर्देशनमा बनेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, प्रेम सुब्बालगायतको अभिनय छ ।
नेपाली फिल्मले १०० दिन मनाउनका लागि करिब ५ वर्ष कुर्नु परेको छ । यसअघि २०७५ सालमा दुईवटा हलमा फिल्म ‘शत्रु गते’ले प्रदर्शनको १०० दिन मनाएको थियो ।