रास्वपा सांसद गौतमले ‘पोलिटिकल अफ द इयर’ अवार्ड-Sutra News

रास्वपा सांसद गौतमले ‘पोलिटिकल अफ द इयर’ अवार्ड

बिहिबार, ४ साउन २०८०

बिहिबार, ४ साउन २०८०

पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले विभिन्न देशका मन्त्री, सांसद, मेयर लगायतका प्रभावशाली नेताहरूलाई पछि पार्दै ‘योङ वर्ल्ड पोलिटिकल अफ इयर’ अवार्ड जितेकी छिन् ।



उक्त अवार्डका लागि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद गौतमसँगै चिलीकी महिला तथा लैङ्गिक समतामन्त्री एन्टोनिया कस्मिक सहित विभिन्न देशका सांसद, मेयर लगायतलाई सर्टलिस्टमा समावेश गरिएको थियो । सर्टलिस्टमा समावेशमध्ये ५ जनालाई अवार्ड प्रदान गरिएको हो ।

सांसद गौतम उक्त अवार्ड प्राप्त गर्ने पहिलो नेपाली नागरिक हुन् । प्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रतिनिधिसभामा निर्वाचित सबैभन्दा कान्छी सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीको संस्थापक सदस्यको रूपमा सांसद गौतमलाई सर्ट लिस्टमा समावेश गरेको आयोजक ‘वन योङ वर्ल्ड योङ’ले जनाएको छ । आयोजकले दिएको जानकारी अनुसार सांसद गौतमसँगै क्यानडाकी एरिइल्ले कायावागा, अष्ट्रेलियाकी अयोर मयुर चुओट, न्युजिल्यान्डका मोको तेपानीया र बेल्जियमका स्यामुअल कोगोलातीले यो अवार्ड जितेका छन् ।

अहिलेसम्म बिजुली समेत नपुगेको गाउँमा जन्मेर राम्रो स्रोत साधन नभएको सरकारी विद्यालयबाट अध्ययन गरेर पनि सामाजिक सञ्जाल मार्फत आफ्नो भाषण कलाको माध्यमले राजनीतिमा उदायकी पात्रको रूपमा सांसद गौतमको चर्चा गरिएको छ ।

आआफ्नो देश र समुदायको हीतमा अतुलनीय काम गरेको प्रमाणका आधारमा १८ बर्षदेखि ३५ बर्षभित्रका युवा नेता नेतृहरुका बीचको सो प्रतिष्पर्धामा सांसद गौतम सर्बोत्कृष्ट बन्न सफल भएकी हुन् । आफ्नो देश र समुदायका युवा मानिसमा सकारात्मक प्रभाव पार्न भूमिका खेलिरहेका विश्वका उच्च राजनीतिज्ञ मध्येबाट उत्कृष्ट पाँच जनालाई यो उपाधि दिने गरिएको छ । बुधबार मध्यराति यो अवार्डको घोषणा गरिएको हो ।

भ्रष्टाचार नियन्त्रणका लागि असरदार आवाज उठाएको, जनता र समुदायका पक्षमा प्रभावकारी काम गरेको र उनका कामले विश्वका अन्य मुलुकहरुका युवा नेतृत्वलाई समेत सन्देश दिन सफल भएको आधारमा विजेताको छनौट गरिएको सो संस्थाद्वारा जारी सूचनामा जानकारी दिइएको छ । प्रत्येक वर्ष विश्वका योग्य युवा राजनीतिकर्मीलाई प्रतिष्पर्धामा सामेल गराई संसार प्रसिद्ध विभिन्न विज्ञहरुलाई निर्णायक राखेर सो अवार्डको विजेता छनौट गरिँदै आएको छ ।

अवार्ड विजेता नेपालकी सांसद गौतमसहतिलाई सो अवार्डबाट सम्मानति गर्न आयोजक संस्थाले आगामी अक्टोवर २ तारिकदेखि ५ तारिकका बीचमा एउटा भव्य समारोह बेलायतमा आयोजना गर्ने भएको छ ।

विभिन्न क्षेत्रमा विश्वका प्रतिष्ठित विज्ञहरुलाई निर्णायक राखेर सो संस्थाले विजेताको छनौट गरेको थियो जसमा मानवअधिकार तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा वकालत गर्ने जाम्बियाकी विज्ञ, राजनीति विज्ञ तथा कोष्टारिकाकी पहिलो महिला राष्ट्रपति, कानूनविद् एवं अन्तर्राष्टिय फौजदारी अदालत हेगका एक न्यायाधिश र अमेरिकाको कोलम्बिया युनिभर्सिटीका प्रध्यापक रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट