सिके राउतले गरे ५ नेतालाई कारवाही, कारवाहीमा पर्नेमा उपेन्द्रविरुद्ध चुनाव लड्न भित्र्याइएका कुशवाह पनि-Sutra News

सिके राउतले गरे ५ नेतालाई कारवाही, कारवाहीमा पर्नेमा उपेन्द्रविरुद्ध चुनाव लड्न भित्र्याइएका कुशवाह पनि

बिहिबार, ४ साउन २०८०

बिहिबार, ४ साउन २०८०
फाइल तस्बिर

जनमत पार्टीले विधान, नीति तथा निर्देशनविपरीत काम गरेको भन्दै उपेन्द्रविरुद्ध चुनाव लड्न चार महिना अघि भित्र्याइएका शिवचन्द्र कुशवाहसहित पाँच जना नेतालाई कारबाही गरेको छ ।



जनमत पार्टी, केन्द्रीय अनुशासन समितिले कुशवाहासँगै गुलाव मण्डल, शंकर खड्का, भोपेन्द्र यादव र भगवान दास यादवलाई कारबाही गरेको हो ।

पार्टीको अनुशासनविपरीत काम गरेकाले कारबाही गरिएको जानकारी पार्टीका राष्ट्रिय उपाध्यक्ष ई. दीपककुमार साहबाट जारी विज्ञप्तिमा जनाइएको छ।

कुशवाहा बारा-२ को उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादव विरुद्ध चुनाव लडेका थिए । उनलाई पार्टीको साधारणसदस्य समेत नरहनेगरी कारबाही गरिएको छ । कुशवाहाले अनुशासनहीन काम गरेको र नेतृत्वविरुद्ध लागेको बताइएको छ । चुनावको मुखमा उपेन्द्रविरुद्ध लडाउन कुशवाहालाई पार्टीमा भित्र्याइएको थियो।

त्यसैगरी सप्तरीका मण्डल १ वर्ष निलम्बनमा परेका छन्। मन्दिरको व्यवस्थापन समितिको निर्वाचनमा बागी उम्मेदवार बनेर असहयोग गरेका कारण उनी निलम्बनमा परेका हुन् भने सप्तरीकै शंकर खड्कालाई विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा बागी उम्मेदवार बनेको एक वर्षका लागि नै असहयोग गरेको भन्दै उनलाई पनि निलम्बन गरिएको छ ।

रुपन्देहीका भोपेन्द्र यादवलाई केन्द्रीय सचिवालयबाट ३ महिनाका लागि निलम्बन गरिएको छ । उनीमाथि केन्द्रीय निर्देशनको उल्लंघन गरेको र गर्न लगाएको तथा गुटबन्धी गरेको आरोप छ।

यस्तै कपिलवस्तुका भगवान दास यादव एक वर्षको निलम्बनमा परेका छन् । उनीमाथि पटकपटक पार्टीका बैठक तथा कारवाहीको क्रममा होहल्ला गरेर अनुशासनहीनता देखाएको आरोप छ ।

जारी विज्ञप्तीमा कारबाही पश्चात सुधार देखाउने वा नदेखाउने व्यवहारअनुसार कारबाही फुकुवा वा थप कारबाही हुन सक्नेछ उल्लेख छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट