नाबालिका बलात्कार मुद्दामा डेढ वर्ष जेल परेर पछि पीडितको होस्टायल बयानका कारण सफाइ पाउँदै रिहा भएका अभिनेता पल शाहको अन्तरवार्ता कलाकार तथा टेलिभिजन प्रस्तोता सन्दिप क्षेत्रीलाई महँगो परेको छ।
कान्तिपुर टेलिभिजनले ‘ह्वाट द फ्लप’ कार्यक्रमको उत्पादन तथा प्रसारण बन्द गरेपछि क्षेत्रीका लागि अन्तरवार्ता लिनु भारी परेको हो।
बिहीबार सूचना जारी गर्दै टेलिभिजनले महिलाको स्वाभिमान र समाजको चेतनालाई सम्मान गर्दै कार्यक्रमको उत्पादन र प्रसारण पूर्णतः रोकिएको जनाएको हो।
गत असार २३ गते शनिबार प्रसारित उक्त कार्यक्रमको एपिसोडमा अभिनेता पल शाहसँग होस्ट सन्दीप क्षेत्रीले लिएको अन्तर्वार्तामा महिलालाई मजाकको विषय बनाइएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो।
आलोचनापछि कान्तिपुरले उक्त एपिसोड आफ्नो डिजिटल प्लेटफर्मबाट हटाएको थियो।
बिहीबार जारी गरेको सूचनामा कान्तिपुर टेलिभिजनले ‘ह्वाट द फ्लप’को ठाउँमा चाँडै नै उत्कृष्ट कार्यक्रम ल्याउने बताएको छ।
यसअघि पनि मधेशी समुदायलाई मजाकको पात्र बनाएको भन्दै उनको व्यापक आलोचना हुने गरेको थियो।
पल शाह निम्त्याइएको कार्यक्रम विवादित बनेपछि टिभीले आफ्नो डिजिटल प्लेटफर्मबाट तत्काल कार्यक्रम हटाउँदा क्षेत्रीले भने आफ्नो फेसबुक पेजमा सो कार्यक्रम सेयर गरेको पोस्ट हटाएका थिएनन्।
कार्यक्रम विवादित भएपनि उनले हालसम्म यस प्रकरणमा आफ्नो धारणा सार्वजनिक गरेका छैनन्।