शुक्रबार केन्द्रीय समिति बैठकमा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले महामन्त्रीले पेश गरेको प्रतिवेदन देश हाँक्ने प्रतिवेदन नभइ एनजीओको विसलिष्टजस्तो लागेको बताएकी छन्।
साउन २ गते केन्द्रीय समितिमा महामन्त्री गगन थापाले वार्षिक कार्ययोजना प्रस्ताव गरेका थिए।
आरजुले महामन्त्रीले ती कार्ययोजनामा समेटेका कार्यक्रमले दिने उपलब्धिबारे प्रष्ट नखुलाएको समेत बताइन्।
‘नेपाली कांग्रेस भनेको नेपाल देशको एजेन्डा सेट गर्ने पार्टी हो। देश कता जाने? राजनीति कस्तो र समाज कस्तो हुने? अर्थतन्त्र कस्तो हुने इतिहास हेर्ने हो भने कांग्रेसले नै सेट गरेको छ,’ उनले भनिन्, ‘यसपालि महामन्त्रीको प्रतिवेदन दुरगामी र देश हाँक्नेजस्तो केही कुरा पनि मैले देखिनँ। म अचम्मित पनि भएँ।’
उनले आफूले महामन्त्रीको प्रतिवेदन राजनीतिक दस्तावेजका रूपमा आउने सोचेको बताइन्।
‘यो राजनीतिक दस्तावेजभन्दा पनि एउटा एनजीओको विसलिष्टजस्तो मलाई लाग्यो, धेरै कार्यक्रम गर्ने, उपलब्धि के हो प्रष्ट भएन,’ आरजुले भनिन्।
सो क्रममा उनले पार्टीले सुशासनमा ध्यान दिनुपर्ने बताइन्। त्यस्तै सरकारमा सामेल भएका आफ्ना पार्टीका मन्त्रीहरूले बुझेर काम नगरेको आरोप पनि लगाइन्।
उनले भनिन्, ‘हाम्रो घोषणा पत्रसँग मिल्ने गरी काम गर्नुपर्यो,’ उनले भनिन्, ‘अनि पो हाम्रो भोट बढ्छ।’
वडामा क्रियाशील सदस्यभन्दा पनि कम भोट आउने गरेको उनको भनाइ छ।
‘भोट नदिनेलाई क्रियाशील बनाएर के काम?,’ उनले भनिन्, ‘अरूले सदस्यता दियो भन्दैमा हामीले किन दिने?’
उनले नेताका बारेमा सार्वजनिक स्थानमा आलोचना गर्न छाड्नुपर्ने बताइन्।
यसैगरी आरजुले महिलाका लागि एक तिहाइ सिट छुट्टाएर प्रत्यक्ष चुनाव लड्ने व्यवस्था गरिनुपर्ने बताइन्।