नेपालमा ‘दिवा खाजा कार्यक्रम’ सफल : प्रधानमन्त्री-Sutra News

नेपालमा ‘दिवा खाजा कार्यक्रम’ सफल : प्रधानमन्त्री

सोमबार, ८ साउन २०८०

सोमबार, ८ साउन २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालबालिकाका लागि विद्यालयमा सञ्चालन गरिएको ‘दिवा खाजा कार्यक्रम’ नेपालमा सफल भएको बताएका छन् ।



सो कार्यक्रमबाट हरेक दिन देशभरका बालबालिका प्रत्यक्ष रुपमा लाभान्वित भइरहेको तथ्य पेस गर्दै प्रधानमन्त्री दाहालले त्यस कार्यक्रमलाई निरन्तरता दिन सरकारले पछिल्लो पाँच वर्षमा चार गुणा बजेट वृद्धि गरेको जानकारी गराए ।

खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजित ‘युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’ लाई आज सम्बोधन गर्दै उनले नेपालमा लागू गरिएको विद्यालय खाजा कार्यक्रम विद्यार्थीको स्वास्थ्य र समग्र शैक्षिक सुधारका लागि प्रभावकारी भएको स्पष्ट पारे । सो कार्यक्रमबाट प्रत्यक्ष रूपमा ३३ लाख बालबालिका प्रत्यक्ष रूपमा लाभान्वित भएको तथ्याङ्कसमेत प्रधानमन्त्री दाहालले पेस गरे ।

“विद्यालय खाजा कार्यक्रम नेपालको एउटा सफल कार्यक्रम हो । यसबाट नेपालमा हरेक दिन ३३ लाख विद्यार्थी लाभान्वित भइरहेका छन्”, प्रधानमन्त्री प्रचण्डले भने, “फलस्वरूप विद्यार्थी भर्नामा वृद्धि, नियमित उपस्थिति र शैक्षिक सुधारजस्ता उपलब्धि हासिल भएको छ ।”

सो कार्यक्रमलाई एकीकृत रूपमा कृषि, शिक्षा, खाद्य सुरक्षा, पोषण, स्वास्थ्य र सरसफाइसँग जोडिएको प्रधानमन्त्री दाहालको भनाइ छ । उनले चालु आर्थिक वर्षको शिक्षा तर्फको बजेटको कूल ६ प्रतिशत दिवा खाजाका लागि वृद्धि गरिएको उल्लेख गरे ।

उहाँले सन् २०२१ को खाद्य सम्मेलनपछि नेपालले स्थानीयस्तरसम्म खाद्य प्रणालीका बारेमा छलफल चलाएको एवं सन् २०२२ देखि २०३० सम्मका लागि खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजना तय गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट