माइतीबाट घर पुग्नेबित्तिकै कैलालीमा एक महिलाको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालका–१७ धुर्जुना माइती भएकी २४ वर्षीया संजीता चौधरी भजनी नगरपालिका–५ लालबोझीस्थित आफ्नै घरमा मृत फेला परेकी हुन् । मंगलबार माइती घरबाट साढे ९ बजे घर जान्छु भनेर निस्केकी संजीता धनगढी बजारबाट १२ बजे बसमा चढेकी थिइन्।
दुई बजे आफ्नो घर लालबोझी पुगेकी उनी सोही दिन मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । संजीताका श्रीमान् २६ वर्षीय सुवेत यादब सोहिदिन ४/५ महिनाका लागि कमाउन भारत जान्छु भन्दै घरबाट निस्केका थिए । संजीता घर पुग्ने बित्तिकै झुण्डिएर देहत्याग गरेको खबर तिकुनिया पुगेका यादबसम्म पुगेपछि फर्केर घर पुगेको बताइएको छ।
तीन वर्षअघि संजीता र सुवेतबिच प्रेम विवाह भएको माइती पक्षले जनाएको छ। संजीताको आत्महत्या नभई हत्या भएको हुन सक्ने माइती पक्षको अनुमान छ। ‘झुण्डिएको व्यक्तिको भूइँमा खुट्टा कसरी पुग्छ र मृत्यु हुन्छ’, मृतक संजीताका मामा हरिनारायण चौधरीले भने। संजीताको मोबाइल समेत उनका श्रीमान् सुवेत यादवसँग भेटिएको उनले बताए ।
प्रहरीले घटनाबारे अनुसन्धान थालिरहेको जनाएको छ।