मदिरा बिक्रीका लागि लाइसेन्स वा दर्ता अनिवार्य त सामान्य कुरा हो तर अब पिउनेले समेत लाइसेन्स बनाउनु परेको छ । यो नेपालकै जुम्लाको गुठीचौर गाउँपालिकाको समाचार हो ।
गुठीचौर गाउँपालिकाको गत असार ३१ गते बसेको १५ गाउँसभाबाट नयाँ आर्थिक वर्ष २०८०/८१ का लागि उक्त नियम लागू गर्ने निर्णय भएको हो।
गाउँपालिकाले यही भदौ १ गतेदेखि लागू हुनेगरी मदिरा पिउनेका लागि अब लाइसेन्स अनिवार्य चाहिने नियम ल्याएको हो।
गाउँपालिकाको मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधिअनुसार विद्यालय, स्वास्थ्य केन्द्र, सार्वजनिकस्थल, मन्दिर, सरकारी तथा गैरसरकारी कार्यालयभन्दा पाँच सय मिटर टाढा मात्रै मदिरा बिक्री गर्न पाइनेछ।
कार्यविधिअनुसार मदिरा पिउनेहरुले अब वार्षिक रुपमा गाउँपालिकालाई राजस्व बुझाउनु पर्ने भएको छ । बियरअन्तर्गतका मदिरा दैनिक १८० मिलिलिटर, एक बोतल पिउनले वार्षिकरुपमा ५ सय रुपैयाँ बुझाउनु पर्नेछ।
त्यसैगरी अतिथि कार्ड भएकाले मदिरा पिउन चाहेमा दैनिक एक सय रुपैयाँ राजस्व बुझाउनु पर्नेछ। मदिरा पिउने पाहुनाले पनि लाइसेन्स लिनुपर्ने नियम पालिकाले लिएको हो।
कार्यविधिअनुसार विक्रीकर्ताले बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म विक्री वितरण तथा ओसारपोसार गर्न पाउनेछन् भने सेवनकर्ताले बेलुकी ६ बजेदेखि राति ९ बजेसम्म मात्र सेवन गर्न पाउनेछन्।
गाउँपालिकाले सार्वजनिक पद धारण गरेको व्यक्ति वा सरकारी कर्मचारीले मदिरा पिएर सामाजिक रुपमा हो-हल्ला, गाली बेइज्जत जस्ता क्रियाकलाप गरेमा अन्य व्यक्तिलाई गरिने सजायको दोब्बर सजाय तय गरेको छ।