वाणिज्य बैंकहरूको नाफा ७० अर्बमाथि : नविल बैंक अग्रस्थानमा (भिडियोसहित)-Sutra News

वाणिज्य बैंकहरूको नाफा ७० अर्बमाथि : नविल बैंक अग्रस्थानमा (भिडियोसहित)

आइतबार, २१ साउन २०८०

आइतबार, २१ साउन २०८०

गत आर्थिक वर्षमा अधिकांश वाणिज्य बैंकहरूले सन्तोषजनक नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।



गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा आइपुग्दा वाणिज्य बैंकहरूले ७० अर्ब १७ करोड ५८ लाख १२ हजार रुपैयाँ खुद मुनाफा हासिल गरेका छन् । यो अघिल्लो वर्षको यसैअवधीको तुलनामा २४.९३ प्रतिशतले धेरै हो । अघिल्लो वर्षको यसै अवधीमा वाणिज्य बैंकहरूको आम्दानी ५६ अर्ब १७ करोड २३ लाख ५६ हजारमात्रै थियो ।

यस अवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ भने यसलाई ग्लोबल आइएमई बैंकले पछ्याएको छ । गत आर्थिक वर्षमा दुई वाणिज्य बैंकले मात्रै ७ अर्बभन्दा बढी नाफा कमाएका छन् । गत वर्ष नेपाल बंगलादेश बैंकलाई गाभेको नबिल बैंकले सबैभन्दा धेरै ७ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा कमाएको छ भने बैंक अफ काठमाण्डूलाई गाभेको ग्लोबल आइएमई बैंकले ७ अर्ब २५ करोड रुपैयाँ नाफा कमाएको छ । यसबाहेकका अन्य बैंकको भने नाफा ५ अर्बभन्दा कम छ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ९१ करोड रुपैयाँ नाफा कमाएको छ भने एनआईसी एशिया बैंकले ४ अर्ब ६५ करोड रुपैयाँ नाफा कमाएको छ ।

साना बैंक अन्य ठूला बैंकसँग मर्जरमा जाँदा मर्जरमा नजाने बैंकहरू भने खुद नाफाको आधारमा सबैभन्दा पछाडि परेका छन् । गत आर्थिक वर्षमा माछापुच्छ्रे बैंकको नाफा वाणिज्य बैंकहरूमा सबैभन्दा कम रहेको छ । बैंकले १ अर्ब ८५ करोड रुपैयाँ नाफा कमाएको छ । यस्तै कुमारी बैंकले १ अर्ब ९५ करोड रुपैयाँ नाफा कमाएको छ भने सिटिजन्स बैंकले २ अर्ब २१ करोड रुपैयाँ नाफा कमाएको छ । कुमारी बैंकले सम्भावित जोखिमबापत धेरै रकम छुट्याउनु परेकोले पनि उसको नाफा कम भएको छ ।

गत आर्थिक वर्षको विवरण अनुसार ग्लोबल आईएमई बैंक चुक्ता पूँजी, निक्षेप र कर्जामा नम्बर १ भएको छ । बैंकको कुल चुक्ता पूँजी ३५ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ भने निक्षेप संकलन ४ खर्ब २६ अर्ब रुपैयाँ र कर्जा लगानी ३ खर्ब ५६ अर्ब रुपैयाँ पुगेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको चुक्ता पूँजी सबैभन्दा कम ९ अर्ब ४२ करोड रुपैयाँ छ भने निक्षेप संकलन १ खर्ब १७ अर्ब र कर्जा लगानी ७७ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा भने एभरेष्ट बैंक सबैभन्दा बलियो देखिएको छ । गत बर्षको चौथो त्रैमासमा बैंकको जगेडा कोषमा १४ खर्ब ७९ करोड रुपैयाँ रहेको छ । जुन वाणिज्य बैंकहरूमा सबैभन्दा धेरै हो । जगेडा कोषमा स्ट्यान्डर्ड चार्टर्ड बैंक सबैभन्दा पछाडि छ ।

गत आर्थिक वर्षमा प्रतिशेयर आम्दानीमा एनआइसी एशिया बैंक सबैभन्दा अगाडि देखिएको छ । बैंकको प्रतिशेयर आम्दानी ४० रुपैयाँ २२ पैसा रहेको छ जुन वाणिज्य बैंकहरूमा सबैभन्दा धेरै हो । कुमारी बैंकको भने प्रतिशेयर आम्दानी सबैभन्दा कम ७६ रुपैयाँ छ । यसैगरी नेटवर्थ पनि एनआइसी एशिया बैंकको सबैभन्दा बलियो देखिएको छ । बैंकको प्रतिशेयर नेटवर्थ सबैभन्दा धेरै २५६ रुपैयाँ ४१ पैसा रहेको छ भने कुमारी बैंकको सबैभन्दा कम १४० रुपैयाँ ४७ पैसा रहेको छ ।

गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार एभरेष्ट बैंकले लगानीकर्तालाई सबैंभन्दा धेरै लाभांश बाँड्नसक्ने क्षमता रहेको देखिएको छ । एभरेष्ट बैंकले गत आर्थिक वर्ष कुल ४ अर्ब ३३ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ जसबाट बैंकले शेयरधनीलाई ४०.५० प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ । यसैगरी एनआइसी एशिया बैंकले पनि ३१.९९ प्रतिशत लाभाश दिनसक्ने क्षमता छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकले २८.९९ प्रतिशत लाभांश वितरण गर्न सक्छ । यता हिमालयन बैंक र कुमारी बैंकले भने वितरणयोग्य नाफा नकारात्मक देखिएको छ । दुवै बैंककले वितरणयोग्य प्रतिशेयर आम्दानी ३ रुपैयाँभन्दा धेरैले ऋणात्मक देखिएको छ । यस्तै गत वर्षको कमाइबाट प्रभु र इन्भेष्टमेन्ट मेगा बैंकको पनि लाभांश क्षमता १ प्रतिशतभन्दा कम देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट