प्रहरीले १५७ किलो लागूऔषध गाँजासहित सात जनालाई पक्राउ गरी सोमबार दिउँसो सार्वजनिक गरेको छ ।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले आइतबार बेलुकी जितपुरसिमरा उपमहानरपालिका-२२ अमलेखगजंस्थित जंगलबाट गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो ।
गाँजा ओसार पसारमा प्रयोग भएका तीन वटा सवारी र चार जना भारतीयसहित सात जनालाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।
बा ११ च ४९९२ नम्बरको स्कायिपोबाट मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका १ बस्ने ३९ वर्षीय रोशन नेगीले उक्त परिमाणको गाँजा ओसारेको पाइएको छ । स्कापियोमा ६ पोकामा १५७ केजी लागूऔषध गाँजासहित उनी पक्राउ परेका हुन् ।
यस्तै सो गाँजा लिएर आउनेमा मकवानपुर भिमफेदी गाउँपालिका वडा नम्बर ९ का ३० वर्षीय मुकेश लामा, जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर-२२ अमलेखगजंका ३३ वर्षीय बुद्ध पाख्रिन रहेका छन् ।
यसैगरी गाँजा लिन आएको बिआर ०५ जि ८६५६ नम्बरको भारतीय पिकअप एक र विआर ०५ एजेड ८९६१ नम्बरको भारतीय पल्सर मोटरसाइकलसहित चार जना भारतीय नागरिकसमेत पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा भारत मोतिहारीका २६ वर्षीय अलि अहमद भाट, २३ वर्षीय जमालुदिन खान, १८ वर्षीय देव कुमार र ३५ वर्षीय जागिरदिन मियाँ रहेका छन् ।
पक्राउ परेका उपर आगूऔषधसम्बन्धी मुद्दामा जिल्ला अदालत बाराबाट म्याद लिई थप अनुसन्धान भइरहेको बाराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।