अदालतबाट सफाइ पाएपछि पेशेवर विरोधीहरूबाट पनि सफाइ पाउनुपर्ने हो ? : लामा-Sutra News

अदालतबाट सफाइ पाएपछि पेशेवर विरोधीहरूबाट पनि सफाइ पाउनुपर्ने हो ? : लामा

सोमबार, २२ साउन २०८०

सोमबार, २२ साउन २०८०

लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्हारक्याल लामाले आफूलाई राज्यले जिम्मेवारी दिनेबेला आफूविरूद्ध लान्छाना लगाउने गिरोह र मिडिया सक्रिय हुने गरेको दाबी गरेका छन् ।



आफूमाथि लागेको आरोप बारेमा अदालतले सफाइ दिए पनि पेशेवर विरोधीहरुले सधैं संगठित रुपमा आक्रमण गरेको उनको भनाइ छ ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नवनियुक्त उपाध्यक्ष डा.लामाले प्रश्न गरे, ‘अदालतले सफाइ दिए पनि केही पेशवर विरोधीहरूको इजलालसले सफाइ नदिएसम्म अभियुक्त र अपराधी नै भइदिनुपर्ने हो ?’

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आफ्नो नियुक्तिपछि केही मिडियाले आफूविरुद्ध चरित्रहत्याको निम्नस्तरीय तहमा उत्रिएर गरिएका समाचार टिप्पणी र लान्छानाहरुप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उनले बताए ।

ती आरोपहरूले अदालतकोसमेत अपहेलना भएको बताउँदै उनले भने, ‘उनीहरुले लगाएका अभियोगहरूको अदालती परीक्षणमा समेत मैले सधैं सफाइ पाएको छु तर जब उनीहरूको स्वार्थमा धक्का लाग्छ, तब मविरुद्ध समाचारका खेति हुने गरेका छन् ।’

डा.लामाले आफू बौद्ध दर्शनको शिक्षादीक्षा लिएर बुद्धत्वको प्रचार प्रसारमा आफ्नो जीवन समर्पित गर्नु नै अपराध हो भने आफू अपराधबाट कहिल्यै सफाइ पाउन नसक्ने बताए ।

उनले भने, ‘मविरुद्ध राज्यकै जिम्मेवार निकायमा बसेका केही व्यक्तिले पदको दुरुपयोग गरेर लगाइएका झुठा मुद्दाहरुबाट समेत मैले सफाइ पाइसकेको यथार्थ स्वीकार गर्न नसकी लगातार आक्रमण गर्नेहरुप्रति मेरो केही भन्नु छैन । के मैले उनीहरुका आरोपबाट सफाइ पाउन मृत्यु नै रोज्नु पर्ने हो ? उनीहरुको यो चाहना हो भने मलाई बुद्ध दर्शनले त्यति कायर पनि बन्न प्रेरित गर्दैन।’

बुद्धका उपदेशबाट एक इन्च दायाँबायाँ नगरेको र आफ्नो जीवन दर्शन र आफूले आर्जन गरेको शिक्षाले त्यो गर्न नमिल्ने उनले दाबी गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट