आमसञ्चार नीति छिट्टै ल्याउँछौँ : सञ्चारमन्त्री शर्मा-Sutra News

आमसञ्चार नीति छिट्टै ल्याउँछौँ : सञ्चारमन्त्री शर्मा

मंगलबार, २३ साउन २०८०

मंगलबार, २३ साउन २०८०

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार ऐन छिट्टै ल्याउने तयारी भइरहेको बताएकी छन् । विश्व सामुदायिक रेडियो प्रसारक सङ्घद्वारा काठमाडौँमा आयोजित तीन दिने दक्षिण एशियाली सामुदायिक रेडियो सम्मेलनको आज उद्घाटन गर्दै उनले आमसञ्चार ऐन मन्त्रालयले तयार गरेको र यसलाई छिट्टै मन्त्रिपरिषद्मा लैजाने जानकारी दिइन् ।



मन्त्री शर्माले भनिन्, “आमसञ्चार ऐन तयार छ । यो ऐन आएपछि रेडियोलगायत सञ्चार माध्यमको समस्या समाधान हुने छ भन्ने विश्वास छ ।” लोकतन्त्र र सञ्चार एकापसमा अभिन्न रुपले जोडिएका विषय भएको उल्लेख गर्दै उनले नेपालमा मात्र नभइ संसारभर नै सामुदायिक रेडियोको महत्वपूर्ण भूमिका रहेको बताइन् ।

“लोकतन्त्र र सञ्चार एकापसमा अभिन्न रुपले जोडिएका विषयवस्तु हुन् । जहाँ अभिव्यक्तिको स्वतन्त्रता हुन्छ, त्यहाँ लोकतन्त्र रहन्छ । त्यसकारण अभिव्यक्तिको स्वतन्त्रता लोकतन्त्रको सुन्दर पक्ष हो”, मन्त्री शर्माले भनिन् । विगतमा देशमा प्रजातन्त्र स्थापनाका लागि भएका सबै ठूलाठूला आन्दोलनलाई सफलतामा पुर्‍याउनका निम्ति पनि रेडियोको ठूलो भूमिका रहेको उनले उल्लेख गरिन् ।

सामुदायिक रेडियोका जटिल समस्या, केही नीतिगत र कानुनी सुधारका पाटा रहेका र तिनको समाधानका लागि सरकारले आवश्यक पहल गर्ने मन्त्री शर्माले विश्वास व्यक्त गरिन् ।

विश्व सामुदायिक रेडियो प्रसारक सङ्घको एशिया प्रसान्त क्षेत्रीय अध्यक्ष रामनाथ भाटले सामुदायिक रेडियो प्रसारकको एकअर्काबीच ज्ञान आदानप्रदानका साथै आगामी रणनीतिक साझेदारिताबारे सम्मेलन उपयोगी हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट