कैदीको मृत्यु भएपछि १० प्रहरीसहित १५ जना पक्राउ-Sutra News

कैदीको मृत्यु भएपछि १० प्रहरीसहित १५ जना पक्राउ

शुक्रबार, २६ साउन २०८०

शुक्रबार, २६ साउन २०८०

ङ्खुवासभा जिल्ला कारागार खाँदबारीमा भएको घटनाको अनुसन्धानका लागि १० प्रहरीसहित १५ जनालाई नियन्त्रणमा लिइएको छ ।



कारागारमा कुटपिटबाट सङ्खुवासभाको मादी नगरपालिका–५ का कैदी १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थियो । कैदी मादी –५ का तोलाङ्गी र ककनी–७ का २८ बलामीको कुटपिटबाट मृत्यु भएको सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले पुष्टि गरे ।

कारागारको शौचालयको झ्यालका रड काटेर भाग्न खोजेको भन्दै कैदी तोलाङ्गी र बलामीलाई बुधबार बिहान १ बजेतिर प्रहरीले नियन्त्रणमा लिएको थियो । कुटपिटमा कारागारको सुरक्षामा खटिएका प्रहरीको समेत प्रत्यक्ष संलग्नता देखिएको बताइएको छ । कारागारमा रहेको सीसीटिभी फुटेज अध्ययनबाट प्रहरीले कैदीलाई कुटपिट गरेको देखिएको हो ।

फुटेज हेरेपछि कारागारको सुरक्षामा खटिएका १० प्रहरीसहित १५ जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक गोदारले बताए । पीडित पक्षको किटानी जाहेरी आएपछि म्याद थप गरेर घटनामा संलग्नमाथि थप अनुसन्धान गरिने प्रहरी नायब उपरीक्षक गोदारले बताए । कुटपिटमा कारागारको सुरक्षामा खटिएका प्रहरी र चौकीदार, नाइके, बडानाइकेसहित पाँच कैदीबन्दी संलग्न भएको देखिएको छ । नियन्त्रणमा लिएका १५ जनामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कारागारको सुरक्षामा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा २० प्रहरी परिचालन गरिएका थिए । घटनामा प्रहरीको संलग्नता देखिएपछि प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीसहित १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कैदीको मृत्यु भएको घटनाको अनुसन्धानका लागि भनेर प्रहरीले कारागारका चौकीदार रामकुमार कार्कीसहित नौ कैदीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ । उक्त घटना कारागारको ‘ए ब्लक’मा भएको हो । सो ए ब्लकमा ६६ कैदीबन्दी रहेको थिए ।

घटनापछि जिल्ला सुरक्षा समितिले सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको नेतृत्वमा बुधबार तीन सदस्यीय छानबिन समिति बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट