मोरङमा एक साताभित्र दुई बालिका बलात्कृत भएका छन् । दुवै घटनाका आरोमा आफ्नै बुबालाई प्रहरीले पक्राउ गरेको छ।
मोरङको मिक्लाजुङ गाँउपालिका र विराटनगरमा भएका छुट्टाछुट्टै घटनामा बुवाको संलग्नता देखेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ।
आफ्नै बुवाबाट असुरक्षित बनेका यी दुई बालिकाको उमेर १० र १२ वर्ष छ । माथि उल्लेखित अपराधका घटनालाई केलाउँदा मोरङमा पछिल्लो समयमा बलात्कारका घटनामा विशेषगरी नाताभित्रका मानिस बढी संलग्न भएको पाइएको छ।
मोरङमा गएको पछिल्लो चार आर्थिक वर्षमा ४४५ बलात्कारका घटना भएका छन् । जसमा सबैभन्दा बढी दूधे बालिकादेखि १८ वर्ष उमेर समूहका बालिका पीडित भएका छन् ।
जिल्लामा पछिल्लो समय कतिपय बलात्कारका घटनामा स्वयं बुवासहित परिवारका सदस्य दाजु, हजुरबुबा, काका, मामालगायतका परिवार र नजिकका नातेदारको संलग्नता देखिएको निमित्त प्रहरी निरीक्षक पपु नायकले बताए ।