अर्थमन्त्री डा. प्रकाशशरण महतले सुन तस्करीमा आफ्नो संलग्नता प्रमाणित गर्न चुनौती दिएका छन् । यदि कसैले प्रमाणित गरे पदमा नबस्ने उनले बताए ।
कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकमा अर्थमन्त्री डा. महतले पार्टीकै सांसदले आफूलाई लाञ्छित गरेको भन्दै असन्तुष्टि जनाए । यदि प्रतिक्रिया दिँदै जाने हो भने धेरैका बारेमा धेरै कुरा आफूले पनि भन्न सक्ने उनले बताए ।
तर एउटा संस्कारमा हुर्किएका कारण आफूले त्यसो नगरेको बताए । डा. सुनिल शर्माको नाम नलिई उनले भने, ‘त्यसभन्दा जे उहाँले राख्नुभयो, त्यो उचित हो ?’ शर्माले १० साउनको प्रतिनिधिसभा बैठक र सार्वजनिक मञ्चहरुमा सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्रीको संलग्नता रहेको भन्दै राजीनामा दिनुपर्ने माग गर्दै आएका थिए ।
अर्थमन्त्री डा. महतले भने, ‘यदि यो विषयमा मेरो संलग्नता छ भन्ने कुनै पनि साथीलाई लाग्छ भने प्रमाणित गर्नुस् । म अर्थमन्त्री पदमा बस्दिनँ ।’
तर पार्टीभित्रबाटै लाञ्छना लागेको भन्दै मन्त्री डा. महतले असन्तुष्टि जनाए । यदि पार्टीभित्रकै कसैलाई आफूबारे प्रश्न भए पार्टीमा राख्न समेत उनले बताए ।