विकसित देशको एजेण्डा बोकेर नेपालले दिगो विकास लक्ष्य पूरा गर्न कठिन हुने भन्दै विकासका जानकारहरूले चिन्ता ब्यक्त गरेका छन् ।
राष्ट्रिय जनवकालत मञ्च (नाफान) ले काठमाडौंमा आयोजना गरेको जैविक विविधता र दिगो विकास लक्ष्यमा नागरिक समिक्षा कार्यक्रमका सहभागीहरूले नेपालजस्तो विकासोन्मुख देशले विकसित देशको एजेण्डामा आफ्ना विकासका प्रकृया अघि बढाउनु दुर्भाग्य बनेको बताएका हुन् ।
‘म पालिका प्रमुख भएर आएको डेढ बर्ष हुन लाग्यो, तर हाम्रो विकासको मोडल के हो ? मै कन्फ्युज छु’ बझाङको मस्टा गाउँपालिकाका अध्यक्ष ज्ञान बहादुर बोहोराले भने ‘केन्द्रले एउटा गर भन्छ, प्रदेशले अर्को तिर देखाउँछ, अनि स्थानीयको अवस्था र आवस्यकता हेर्यो अर्कै छ, के हामीले अघि बढाएको वा बढाउने भनेको विकासको मोडल सहि छ ? अब समिक्षा गर्न जरुरी छ ।’
अमेरिका, बेलायत, क्यानडा, भारत, चीन जस्तो देशको विकास मोडल नेपालको सान्दर्भिकतामा मेल नखाने उनको तर्क छ । नेपालले आफ्नै आवस्यकता र अवस्था हेरेर विकासको मोडल तयार गर्दा विकास प्रकृया सहज बन्ने बोहोराले बताए ।
कार्यक्रममा आदीवासी जनजाती महासंघका निवर्तमान अध्यक्ष जगत बरामले राज्यले बनाएको बजेट र योजनाले दुरदराजका नागरिकलाई छुन नसकेको बताए । ‘काठमाडौंको भिआइपी कोठामा बसेर बनाएको योजना र बजेटले हाम्रो समाज र समुदायले महसुस गर्न सकेका छन् रु हाम्रो विकास प्रकृया र दिगो विकास लक्ष्यलमा त्यसको प्रभावकारिता साच्चै परेको छ त रु’ उनले प्रश्न गरे ।
त्यस्तै आदीवासी जनजाती आन्दोलनका अभियान्ता रेशम गुरुङले जैविक विविधता बचाउन स्थानीयको अनुभावलाई आत्मसाथ गर्नुपर्ने तर्क गरे । ‘हामीले कसले बनाइदिएको पोलिसीमा हिँडेका छौ, अरुको पोलिसीले हाम्रो समाजलाई छुन्छ रु हाम्रो जैविक विविधता, संस्कृती जोगिन्छ रु गुरुङले प्रश्न गर्दै भने ‘हाम्रो समाजमा रहेको विविधताहरु ज्ञान, सीप, अनुभाव, दक्षता सबैलाई उपयोग गरौ, विकाससंगै जैविक विविधताको संरक्षणमा पनि हातेमालो गरौ ।’
सन् २०१६ देखि २०३० सम्म दिगो विकास लक्ष्यमा पुग्ने भनिएपनि हालसम्म एशियाली देशहरुमा यसको प्रगति १४ दशमलव ४ प्रतिशत मात्रै देखिएको संयोजक श्रेष्ठले बताए । अबाको सात वर्षमा सतप्रतिशत उपलब्धी पूरा गर्न कठिन रहेको उनको भनाइ छ ।
आफूहरूले १७ वटै लक्ष्यको समिक्षा गर्न चाहेपनि सरकारी निकायसंग तथ्यांक नै नहुँदा समस्या भएको उनको दुखेसो छ । पछिल्लो समय दिगो विकास लक्ष्यको मोडलमाथी नै प्रश्नचिन्ह खडा भएकाले वैकल्पिक विकास मोडलका बारे वहस सुरु हुनुपर्ने संयोजक श्रेष्ठको तर्क छ ।
त्यस्तै अभियान्ता कमल राईले विकाससंगै जैविक विविधताको विनास कसरी भइरहेको भन्ने बिषयमा प्रस्तुतीकरण गरेका थिए । उनका अनुसार विस्तारै नेपालको जैविक विविधता र यहाँको रैथाने उत्पादन नष्ट हुदै गएका छन् ।
कार्यक्रममा वातावरणविद् भोला भट्टराईले पछिल्लो समय विकास प्रकृयासंगै धार्मिक विषयले समेत जैविक विविधतामा असर पारेको बताए । ‘पहिला धर्मसंग जोडेर न्वाङ्गी खाने, वरपिपललाई पूजा गर्ने लगायतका चलन थिए, यसले संस्कृतीमात्रै होइन प्रकृतीको पनि संरक्षण गरेको थियो’ भट्टराईले भने ‘तर विस्तारै मोर्डन बन्ने नाउँमा होस या धर्म परिवर्तनका नाउँमा त्यस्ता बिषय बिस्तारै हामीबाट अलग हुदै गएका छन्, यसले समाजमा जैविक विविधतासंगको सम्बन्ध टुटाउँदै लगेको छ ।’
मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाका चेपाङ तथा तामाङ समुदायमा जैविक विविधताको क्षेत्रमा नाफानले काम गर्दै आएको बताउँदै उनले चेपाङहरूको प्रकृतिसँगको सम्बन्ध विस्तारै कमजोर बन्दै गएको बताए। भट्टराईका अनुसार उक्त क्षेत्र जैविक विविधतामा धनी भएर पनि शहरीकरण, ढुंगाखानी, भूमि अतिक्रमण, बाढी, पहिरो तथा भूक्षयको चपेटामा परेको छ ।
छलफलमा सामुदायिक वनका अभियान्ता, जनप्रतिनिधी, युवा अभियान्ता, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार लगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रमको समापन नेपाल चेपाङ संघका केन्द्रीय महासचिव सन्तबहादुर चेपाङले गरेका थिए ।