काठमाडौँ- माओवादी पार्टीभित्र सबैभन्दा बदनामित पात्र खोज्यौं भने सजिलै नाम फेला पर्छ– कृष्णबहादुर महरा ! काण्डै काण्डले पुरिएका उनी अहिले फेरि विवादमा तानिएका छन् । राजनीतिक संरक्षण प्राप्त भएन भने उनी फेरि परिवारसहितै जेल जाने सम्भावना पनि देखिन्छ ।
विद्यूतीय चुरोट (भेप)मा लुकाएर ल्याइएको नौ किलो सुन तस्करी प्रकरणमा उनी र उनका कान्छा छोरा राहुल महराको नाम मुछिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिबिआई)ले महराका बाउछोरा र पक्राउ परेका चिनियाँ व्यापारी ली हानसङबीच भएको टेलिफोन संवादको विषयमा अनुसन्धान गरेको छ । सिबिआईले सरकारी वकिलको कार्यालयलाई बुझाएको रिपोर्टअनुसार महरा स्वयम्ले चिनियाँ व्यापारी लीसँग २२ पटक र उनका छोरा राहुलले २३४ पटक फोन सम्पर्क गरेको भेटिन्छ ।
स्वयम् महराले यसबारे दिएको प्रष्टीकरणमा पनि चिनियाँ व्यापारीसँग सम्बन्ध रहेको स्वीकार गरेका छन् । तर, महराले उक्त व्यापारीलाई ‘फलफूल व्यापारी’को रुपमा मात्रै चिनेको दाबी गरेका छन् ।
“उनको सामान आउने भनेको फलफूल मात्र हो भन्ने थाहा थियो, भेप भन्ने मलाई थाहै थिएन”, महराले सार्वजनिकरुपमा भनेका छन्, “भन्सारमा अड्कियो भनेपछि छोड्न मिल्ने हो भने छोड्नुस्, लिलाम गर्नुपर्ने हो भने गर्नुस्, भनिदिएको हुँ ।”
सिबिआईको रिपोर्टअनुसार महराले चिनियाँ व्यापारीसँगै नेपालका अन्य सम्पर्क व्यक्ति र भन्सारका कर्मचारीसँग बारम्बार सम्पर्क गरेको पाइन्छ । “आपसी सम्पर्क रहेको र यो समूहले सुन बेचबिखन गर्ने समूहसँग पनि सम्पर्कमा रहेको र निजहरू आ–आफ्नो आपराधिक जिम्मेवारीबमोजिम खटिएको देखिन्छ”, सिबिआईको रिपोर्टमा भनिएको छ ।
गएको १० पुसमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सारले भेपभित्र लुकाएर ल्याएको नौ किलो ११.५२४ ग्राम सुन बरामत गरेको थियो । ७३ वटा प्याकमा ७३० थान भेपमा उक्त सुन लुकाएर ल्याएको थियो । आठ करोड ५५ लाख मूल्य बराबरको उक्त सुन विमानस्थलबाटै अस्वभाविक रुपमा लिलाम गरिएको थियो ।
उक्त प्रकरणमा जोडिएका अन्य पक्राउ परेका छन् र उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । तर, राजनीतिक संरक्षणको कारण महरा बाउ–छोरालाई छानबिनमा समेत ल्याइएको छैन । भ्रष्टाचारविरुद्धको अभियान चलाइरहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोही व्यक्तिसँग सम्पर्क हुँदैमा अपराधी नहुने भन्ने कोणबाट बचाउ गरेका छन् । सत्तारुढ दल माओवादी केन्द्रको उपाध्यक्षको हैसियतमा रहेका महरा आजसम्म जोगिएका छन् ।
हुन त महरा विवादमा परेको र जोगिएको घटना यो मात्रै होइन । उनी यसअघि पनि पटक–पटक निकै गम्भीर प्रकृतिका विवादमा मुछिएका थिए ।
माओवादी लडाकुको अस्थायी शिविरका लागि निकास भएको रकममा भ्रष्टाचार गरेको आरोप माओवादी नेतृत्व र विशेषगरी महरामाथि लाग्ने गरेको छ । लडाकुका लागि निकास भएको ५२ करोड रकममा भ्रष्टाचार भएको आरोप छ । नक्कली लडाकु देखाएर भ्रष्टाचार गरिएको उक्त घटनाप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा विचाराधीन छ । तर, अख्तियारले फाइल अगाडि नबढाएको कारण महराले उन्मुक्ति पाइरहेका छन् ।
महरा यसअघि पनि चिनियाँ व्यापारीसँगको सम्बन्धको कारण विवादमा तानिएका थिए । २०६७ मा प्रचण्ड नेतृत्वको सरकार गठनका लागि संसदमा बहुमत पु¥याउन महराले चिनियाँ व्यापारीसँग ५० करोड मागेका थिए । ‘सांसद किनेर’ बहुमत पु¥याउन चिनियाँ व्यापारीसँग ५० करोड मागिएको अडियो टेप सार्वजनिक भएपछि उनी निकै विवादमा तानिए ।
सधैं शक्ति र पहुँचमा भइरहने महराले उन्मुक्ति पाएको सबैभन्दा ठूलो काण्ड हो– बलात्कार काण्ड । सभामुखको पदमा आसिन हुँदा संसद सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको आरोप लागेपछि उनी पद गुमाउन बाध्य भए । तर, ३० दिन प्रहरी हिरासतमा र १०३ दिन पुर्पक्षका लागि कारागारमा बसेपछि उनी छुटे । घटनामा पीडित भनिएकी महिलाले बयान फेरेपछि उनी छुटेका थिए । पीडित भनिएकीले बयान फेर्नु र उनी छुट्नलाई सामान्यरुपमा लिन मिल्दैन । जसमा पनि शक्ति दुरुपयोगको गन्ध आउँछ ।