काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक बोलाएका छन् । आइतबार मध्यान्ह १२ बजेका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
आचार्यले अनुसार संसदमा देखिएको गतिरोध अन्त्यको विषयमा छलफल गर्न प्रधानमन्त्रीले बैठक बोलाएका हुन् । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेताहरुलाई बोलाएको छ ।
“संसदमा लामो समयदेखि अवरोध हुँदै आएको छ, त्यो अवरोधलाई हल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक राख्नुभएको छ”, आचार्यले सुत्र न्यूजलाई भनेका छन्, “बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेताहरु सहभागि हुनेछन् ।”
सुन तस्करी प्रकरणको विषयमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले साउन १० गतेदेखि संसद् अवरोध गर्दै आएको छ । योबीचमा सभामुखसहित राष्ट्रपति र प्रधानमन्त्रीले समेत गतिरोध हलका विषयमा छलफल चलाएका थिए । तर, प्रतिपक्षी एमाले सहमत बन्न सकिरहेको छैन ।
प्रधानमन्त्री प्रचण्डले शनिबार मात्रै आइतबारदेखि संसद सहज ढंगले चल्ने बताएका थिए । उनले प्रमुख प्रतिपक्षीसँग वार्ता भइरहेको पनि बताएका थिए ।
आइतबार दिउँसो १ बजेका लागि संसद बैठक बोलाइएको छ । तर, प्रतिपक्षी दलसँग सहमति हुन्छ वा हुँदैन यकिनपूर्वक भन्ने अवस्था छैन ।