काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छ । सुन तस्करी प्रकरणको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसदमा गर्दै आएको अवरोधको विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
प्रधानमन्त्री प्रचण्डले बोलाएको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीका शीर्ष नेताहरु सहभागि छन् । प्रधानमन्त्रीले संसदमा राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेतालाई मात्रै बैठकमा बोलाएका थिए ।
आइतबारको सर्वदलीय बैठकमार्फत सहमतिको बिन्दुमा पुग्ने कुरा प्रधानमन्त्री प्रचण्डले यसअघि नै एक सार्वजनिक कार्यक्रममा बताएका थिए । उनले आइतबारदेखि संसद बैठक सूचारु हुने दाबी गरेका थिए ।
तर, आइतबार मात्रै सभामुख देवराज घिमिरेले पनि संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतकहरुसँग गरेको बैठक बिना निष्कर्ष टुंगीएको छ । उनको बैठकले कुनै निकास निकाल्न सकेन ।
प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गरेर १० साउनदेखि संसद अवरुद्ध गर्दै आएको छ । एमालेले निःशर्तरुपमा छानबिन समिति बन्नुपर्ने माग राख्दै आएको छ ।