काठमाडौं । सदनमा देखिएको गतिरोध अन्त्यका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको बैठक पनि असफल भएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनेसम्म संसद सञ्चालन गर्न नदिने एमालेको अडानपछि बैठक असफल बनेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एमालेको अडानपछि सहमति नबनेको बताए । “प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले उच्चस्तरीय छानबिन समिति बनाउनैपर्छ भन्ने अडान राखिरहेको छ, फेरि गृहमन्त्रीज्यूले भइरहेको अनुसन्धानलाई निश्चित समयसम्म पर्खिएर हेरौँ भन्नुभएको छ, उहाँले मागेको समय पनि अब धेरै छैन”, लामिछानेले भनेका छन्, “आज सहमति हुन सकेन ।”
बैठकबारे नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले बैठकमा छलफल सकारात्मक निकै सकारात्मक ढंगले भएको बताए । उनले अर्को बैठकमा सहमति बन्न सक्ने संकेत गरे ।
“छलफल सकारात्मक ढंगले अघि बढेको छ, सोमबार वा मंगलबार फेरि अर्को बैठक बस्ने र छलफल गर्ने भन्ने कुरा भयो”, उनले भनेका छन्, “छलफलको स्प्रीटअनुसार सहमति छिट्टै हुनसक्छ ।”
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बन्नुपर्ने अडान प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले राख्दै आएको छ । उक्त अडान राख्दै एमालेले १० साउनदेखि संसद अवरुद्ध गरिरहेको छ ।