काठमाडौं । आइतबारका लागि बोलाइएको समाजवादी मोर्चाको बैठक स्थगित भएको छ । एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने गरी तय भएको बैठक अन्तिम समय स्थगित गरिएको हो ।
सातै प्रदेशमा मोर्चाको समन्वय समिति गठन र मोर्चाको सभाबारे निर्णय गर्न बैठक बोलाइएको थियो । तर, तयारीलाई कारण देखाउँदै अन्तिम समयमा बैठक स्थगित गरिएको हो ।
एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले सञ्चारमाध्यमलाई बताएअनुसार स्थगित बैठक सोमबार बस्नेछ । उनका अनुसार सोमबार बिहान बैठक बोलाइएको छ ।
तर, यसअघि पनि पटक–पटक बैठक स्थगित भएको कारण सोमबार पनि बैठक बस्ने ठेगान भने देखिन्न । विशेषतः मोर्चामै आबद्ध दलहरुमा मोर्चाप्रतिको धारणा स्पष्ट नभएको कारण मोर्चाले सक्रियता पाएको छैन ।
गत असार ४ मा घोषणा भएको मोर्चाको हालसम्म जम्मा दुई वटा बैठक बसेका छन् । बसेका दुवै बैठक पनि औपचारिक खालमा मात्रै छन् ।