काठमाडौं । समाजवादी मोर्चाले प्रदेशस्तरमा घोषणासभा गर्ने भएको छ । सोमबार बसेको मोर्चाको बैठकले भदौ ८ गतेबाट प्रदेशस्तरमा घोषणासभा गर्ने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए ।
आगामी भदौ ८ गते मधेश प्रदेशको वीरगञ्जमा, १२ गते लुम्बिनीको बुटवल, १३ गते सुदूरपश्चिमको धनगढी, १४ गते कर्णालीको सुर्खेत, १५ गते गण्डकीको पोखरा, २३ गते वाग्मतीको हेटौंडा र २५ गते कोशीको विराटनगरमा घोषणासभा गर्ने निर्णय भएको हमालले जानकारी दिए । उनका अनुसार बैठकमा समसामयिक राजनीति र समाजवादी मोर्चाको भूमिकाको बारेमा पनि छलफल भएको थियो। प्रदेश घोषणासभामा प्रदेशका लागि समाजवादी मोर्चाको संयोजक तोक्ने निर्णय भएको पनि बताए ।
“मोर्चाको तेस्रो बैठकमा समसामयिक राजनीति र समाजवादी मोर्चाको भूमिकाको बारेमा छलफल भयो, समाजवादी मोर्चालाई प्रभावकारी बनाउने, समाजवादी मोर्चालाई शक्तिको रुपमा विकास गर्नुपर्छ र समाजवादी आन्दोलन अघि बढाउनुपर्छ भन्नेकुरामा छलफल भयो”, हमालले भनेका छन्, “हामीले भदौ ८ गते मधेसमा वीरगञ्ज, १२ गते लुम्बिनीको बुटवलमा, १३ गते सुदूरपश्चिमको धनगढीमा, १४ गते कर्णालीको सुर्खेतमा, १५ गते गण्डकीको पोखरामा, २३ गते वागमतीको हेटौंडामा, २५ गते कोशीको विराटनगरमा कार्यक्रम गर्नेछौं ।”
भ्रष्टाचार विरोधी आन्दोलनलाई आक्रामक बनाएर लैजाने निर्णय भएको उनले जानकारी दिए ।
बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले मोर्चाबारे देखिएको विभिन्न आशंका आजदेखि अन्त्य भएको बताए । “छलफल राम्रो भयो, तरंगमय वातावरणमा मोर्चा घोषणा भएको थियो । समय लम्बिँदा बाहिर के हो ? के हो ? भन्ने थियो”, विप्लवले भनेका छन्, “हामीबीचको दुरी घटेको छ, मोर्चाबारे देखिएको आशंका तोडिएको छ ।”
मोर्चाको बैठकमा भ्रष्टाचारविरुद्ध सरकराले चलाएको अभियान निकै सराहनीय रहेको भन्दै सहयोग गर्ने निर्णय भएको पनि बताइएको छ । समाजवादी मोर्चामा सत्तारूढ नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको सहभागिता छ ।
असार ४ मा गठन भएको मोर्चाको लामो समयपछि तेस्रो बैठक बसेको हो । यसअघि आइतबारका लागि बोलाइएको बैठक नेताहरु व्यस्त भएको भन्दै सारिएको थियो ।