के मोबाइल-ल्यापटप चलाउँदा ब्लू-फिल्टर चस्मा लगाए आँखा जाेगिन्छ ?-Sutra News

के मोबाइल-ल्यापटप चलाउँदा ब्लू-फिल्टर चस्मा लगाए आँखा जाेगिन्छ ?

सोमबार, ४ भाद्र २०८०

सोमबार, ४ भाद्र २०८०

मोबाइल र ल्यापटपको अत्याधिक प्रयोग आँखाका लागि हानिकारक मानिन्छ । वास्तवमा यसबाट निस्कने निलो प्रकाशले आँखामा मात्रै नभई शरीरमा अन्य भागमा पनि धेरै किसिमका असर देखापर्छ । यस्ता साइड इफेक्टबाट बच्नका लागि भन्दै पछिल्लाे समय ब्लू-फिल्टर चस्माकाे प्रयाेग बढ्दाे छ ।



यी चस्माले स्क्रिनबाट निस्कने नीलो प्रकाशलाई फिल्टर गरेर साइड इफेक्ट कम गर्न सहयोगी हुने विश्वास गरिन्छ। तर के यो साँच्चै फाइदाजनक छ त ?

यो प्रश्न उठिरहेको छ किनभने अनुसन्धानकर्ताहरूको टोलीले हालै गरेको एक अध्ययनले यो दाबीलाई खण्डन गरेको छ। अनुसन्धानअनुसार स्क्रिनमा काम गर्दा लगाइने ब्लू-फिल्टर चस्माले आँखालाई कुनै फाइदा गर्दैन ।

अन्वेषकहरूले बताएअनुसार ती चस्माले नीलो प्रकाशको क्षतिलाई कम गर्न कुनै सहयाेग गर्दैन । अत्याधिक निलो प्रकाशको सम्पर्कमा आएका मानिसहरुमा आँखा सुक्खा हुने, टाउकाे दुख्ने, निन्द्रा नलाग्ने जस्ता समस्या देखिने गरेका छन् । उल्लेखित समस्यालाई कम गर्न ब्लू-फिल्टर चश्माले कुनै फाइदा गरेकाे पाइएन ।

अध्ययनले के फेला पार्यो ?

कोक्रेन डाटाबेस अफ सिस्टेम्याटिक रिभ्युजमा प्रकाशित उक्त अध्ययनले ६ देशका १७ क्लिनिकल ट्रायलबाट सङ्कलन गरिएका ६१९ व्यक्तिको तथ्याङ्कको जाँच गरेको थियो। अध्ययनमा सहभागी मेलबर्न विश्वविद्यालयका वैज्ञानिक वरिष्ठ लौरा डाउनीका अनुसार ब्लू-फिल्टर चस्माले आँखाको क्षतिलाई रोक्नको लागि कुनै सहयाेग गरेकाे पाइएन ।

अनुसन्धानकर्ताहरूले कोभिड–१९ महामारीको समयमा मोबाइल र ल्यापटपको अत्यधिक प्रयोगका कारण मानिसमा नीलो बत्तीसँग सम्बन्धित धेरै समस्या बढी देखिएको पत्ता लगाएका छन् ।

अनुसन्धानकर्ताहरूले बताएअनुसार ब्लू-फिल्टर लेन्सहरूले सामान्यतया 10%-25% नीलो प्रकाश मात्र फिल्टर गर्दछ। तर, कम्प्युटर स्क्रिन र अन्य कृत्रिम स्रोतहरूबाट उत्सर्जित नीलो प्रकाशको मात्रा निकै नै बढी हुन्छ । यस्तो अवस्थामा यस्तो चश्माको आवश्यकता छैन।

दिउँसो कम्प्युटर वा अन्य कुनै स्क्रिन बढी प्रयोग गर्ने हो भने त्यसबाट हुने साइड इफेक्टबाट आँखालाई जोगाउन केही व्यायाम गर्न सकिने स्वास्थ्य विज्ञहरू बताउँछन् । आँखा स्वस्थ राख्न 20-20-20 विधि अपनाउन सकिन्छ। यसमा हरेक २० मिनेटमा २० फिटको दुरीमा राखिएको वस्तुलाई कम्तीमा २० सेकेण्डसम्म हेर्न सल्लाह दिइन्छ । एजेन्सीकाे सहयाेगमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट