काठमाडौं । सोमबार पनि सेयर बजारमा गिरावट आएको छ । लगातारको गिरावटका बीच बजार दुई हजारको बिन्दुबाट तल ओर्लिएको छ । सोमबार १२.९३ अंकले घट्दै बजार १९९८.२८ को बिन्दुमा झरेको छ ।
गत जेठ २९ मा सेयर बजार १९८६.६७ को बिन्दुमा झरेको थियो । त्यसयता पहिलो पटक बजार अहिलेको अवस्थामा आएको हो ।
ओरालो लागेको बजारमा कारोबार रकम पनि न्यून हुँदै गएको छ । सोमबार ४१ लाख ६३ हजार ८७२ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम एक अर्ब ४० करोड ८९ लाख रुपैयाँमा सीमित भयो । जुन महिना यताकै न्यून हो । गत जेठ १८ मा एक अर्ब ३९ करोड रुपैयाँको कारोबार भएको थियो । त्यसयता बजारमा कारोबार रकम निरन्तर बढिरहेको थियो ।
सोमबार २२७ कम्पनीमध्ये १७१ कम्पनीको मूल्य घट्यो भने ४९ कम्पनीको मूल्यमा केही अंकले बढ्यो । सात कम्पनीको मूल्य स्थीर रह्यो ।
बजार घट्दै गर्दा पनि लक्ष्मी लघुवित्त र कुथेली बुखरी हाइड्रोपावरको मूल्यमा सकारात्मक सर्किट लागेको छ । साम्लिङ्ग पावर, सुपर मादी र सयपत्री हाइड्रोको मूल्यमा केही बृद्धि भएको छ ।
सोमबार सबैभन्दा बढी हाइड्रो पावर क्षेत्रमै १.४० प्रतिशतले गिरावट आएको छ भने फाइनान्स, ट्रेडिङ्ग क्षेत्रमा एक प्रतिशतभन्दा बढीले मूल्य घटेको छ ।
सेयर बजारका विश्लेषक लगानीकर्ताहरु निराशा छाउँदा बजार घटेको बताउँछन् । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्नु, राष्ट्र बैंकले सेयर क्षेत्रलाई सहज बनाउने गरी नीति नबनाउनु जस्ता कुराले लगानीकर्तामा निराशा छाएको विश्लेषकहरुको बुझाई छ ।