काठमाडौं । लामो अन्योलतालाई चिर्दै एक महिनापछि सोमबार समाजवादी मोर्चाको तेस्रो बैठक बस्यो । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय, आलोकनगरमा बसेको बैठकले केही महत्वपूर्णं एजेण्डामाथि निर्णय पनि गरेको छ ।
बैठकले आगामी भदौ ८ गतेदेखि प्रदेशस्तरीय घोषणासभा गर्ने निर्णय गरेको छ भने मोर्चाको प्रदेश स्तरको संयोजक पनि चयन गर्ने निर्णय गरेको छ । एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालका अनुसार मोर्चाको घोषणासभामा प्रदेश संयोजकसहित प्रदेश समिति निर्माण हुनेछ ।
योसँगै समाजवादी मोर्चाले तलदेखि नै व्यवस्थित रुप पाउने बताइएको छ ।
सोमबारको बैठकबाट बाहिरिँदै गर्दा नेताहरु केही उत्साहित जस्ता पनि देखिन्थे ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लामो अन्योलता अन्त्य भएको बताउँछन् । उनका अनुसार मोर्चा घोषणाको समयमा जसरी अभियान चलाउने भनिएको थियो, उक्त अभियान अब सुरु हुनेछ ।
“तरंगमय वातावरणमा मोर्चा घोषणा भएको थियो, समय लम्बिँदा बाहिर के हो ? के हो ? भन्ने पर्न गयो”, उनले भनेका छन्, “पार्टीहरुभित्रै पनि अन्योलता देखियो, आजदेखि त्यो हटेको छ, मोर्चा घोषणा गर्दाखेरि लिइएको उद्देश्यअनुसार अब आन्दोलन अगाडि बढ्छ ।”
विप्लवले सरकारले चालेका कदमहरु निकै आशा जगाउने खालका भएको भन्दै उक्त कदमहरुलाई अगाडि बढाउन मोर्चाले सघाउने बताए । समाजवादी मोर्चालाई अगाडि बढाउने मात्रै नभई शक्तिकै रुपमा विकास गर्ने गरी छलफल अघि बढेको उनको भनाई छ । उनका अनुसार मोर्चालाई पार्टीकै रुपमा अघि लैजानेगरी छलफल चलिरहेको छ ।
“समाजवादी मोर्चालाई शक्तिको रुपमा विकास गर्नुपर्छ र समाजवादी आन्दोलनलाई अघि बढाउनुपर्छ भन्नेकुरामा हामीबीच छलफल भयो, यो अब मोर्चा मात्रैमा पनि सीमित रहनुहुन्न”, उनले भनेका छन् ।
एकीकृत समाजवादीका उपाध्यक्ष हमाल पनि मोर्चामा आबद्ध दलहरुबीच पूर्ण विश्वासको वातावरण बनेको बताउँछन् । मोर्चालाई व्यवस्थित ढंगबाट अगाडि बढाउनेमा सबै सहमत रहेको उनको भनाई छ ।
“केही दुविधा देखिए होलान्, जुन हटिसकेको छ, अब मोर्चा अगाडि बढ्छ, हामीले उद्देश्यअनुसार मोर्चालाई अगाडि बढाउँछौं”, उनले भनेका छन् ।
तर, सरकारका कदमप्रति मोर्चा आबद्ध दलहरु नै असन्तुष्ट
बैठक जे–जस्ता विषयमा सहमति भएपनि दलहरुभित्र सरकारका कामले गर्दा निकै तुस भने पलाएको देखिन्छ । मोर्चाकै मुख्य घटक माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकारले खोलिरहेको विभिन्न प्रकरणका फाइलले दलहरु असन्तुष्ट देखिन्छन् ।
गौर नरसंहार पीडितसँग सरकारले गरेको पाँच बुँदे सहमतिपछि जसपा असन्तुष्ट छ भने ललिता निवास प्रकरणको फाइल खोलिएको प्रति एकीकृत समाजवादी असन्तुष्ट छ ।
जसपाका प्रवक्ता मनिषकुमार सुमन सरकारको शैली सच्याउन आवश्यक रहेको बताउँछन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सरकार बनाउनकै निम्ति सहयोग गर्ने दलहरुलाई अप्ठ्यारो पार्ने गरी व्यवहार गरेको उनको भनाई छ ।
“सरकारको शैली सच्याउनुपर्ने खालको छ, कतिपय हामीविरुद्ध नै लक्षित त होइनन् भन्ने पनि देखिन्छ”, उनले भनेका छन् ।
आवरणमा जे देखिएपनि मोर्चाभित्र पूर्णं विश्वासको वातावरण भने बनिसकेको छैन । कतिपय राजनीतिक विश्लेषक मोर्चालाई ‘सत्ता टिकाउन देखाउने दाँत’को रुपमा मात्रै रहेको टिप्पणी गर्दछन् । तथापी पछिल्लो बैठकले आवरणमा नै सही केही उत्साह भने अवश्य ल्याएको छ ।