काठमाडौँ। कांग्रेसले दोस्रो चरणको समुदायसँग कांग्रेस अभियान कार्यक्रम स्थागित गरेको छ।
सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बसेको पदाधिकारीको बैठकले वर्षायाममा प्रभावकारी नहुने भन्दै अभियान स्थगित गर्ने निर्णय गरेको जानकारी सहमहामन्त्री बद्री पाण्डेले दिए ।
‘प्रतिकूल मौसमबीच हाम्रो पहिलो चरणको कार्यक्रम भर्खरै सकियो । वर्षाको प्रभावले गर्दा बाटोघाटो पुल, पुलेसामा समस्या आएको छ ।
यसैले हाम्रो १० देखि २४ भदौसम्म घोषणा गरिएको समुदायसँग कांग्रेस भन्ने अभियान तत्काललाई स्थगित गरिएको छ,’ पाण्डेले भने । तर २४ भदौ बिपी कोइरालाको जन्मजयन्ती भने देशैभर कार्यक्रम गरेर मनाउने निर्णय कांग्रेसको छ ।
भ्रातृ संस्थामा देखिएको विवादलाई प्रमुखसँग बसेर मिलाउने र विभाग गठनको तयारी गर्ने निर्णय पनि कांग्रेसले गरेको छ ।