काठमाडौँ। सशस्त्र प्रहरी बल (एपीएफ) नेपालले मंगलवार ५६ डीएसपीलाई एसपीमा र ८४ जना इन्सपेक्टरलाई डीएसपीमा बढुवाको लागि नाम सिफारिस गरेको छ।
बढुवा हुने एसपी सि।सं। ३ र डीएसपी सिसं ७ का रहेका छन्। २०६० भदौ २९ गते भर्ना भएका सि।सं। ३ इन्स्पेक्टर टोलीबाट यसअघि २९ जना एसपी भइसकेका छन् भने बाँकी रहेका सबै ५६ जना मंगलबार एसपी बनेका हुन्।
यसैगरी २०६४ सालको सिसं ७ बाट यसअघि ५६ जना डीएसपिमा बढुवा भइसकेका छन् भने मंगलवार बाँकी ८४ जना बढुवा भएका हुन् ।
यसैगरी २०६६ मंसिर २१ गते भर्ना भएका सिसं ८ सशस्त्र प्रहरी निरीक्षकको टोलीबाट ११ जनासमेत डीएसपी भएका छन्।
डीएसपी भएका दुवै टोलीबाट योग्यता, कार्यक्षमता, तालिम, कार्यसम्पादन मूल्यांकनलाई आधार बनाएर गरिएको छ।
सिसं ३ बाट यसअघि एसपी भएका पनि सोही आधारमा गर्दा धेरैजसो पहिलो लटमा डीएसपी भएका र केही चाहिँ दोस्रो लटमा डीएसपी भएका थिए। सो टोली २०६७, २०६९ र २०७० मा गरी तीन पटक डीएसपी बढुवा भएका थिए।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठनको नेतृत्व सम्हालेदेखि नै वृत्तिविकासमा ध्यान दिँदै संगठनलाई नीति नियम अनुसार अघि बढाउन सरुवा–बढुवा लगायतमा व्यापक परिवर्तन गर्दै पारदर्शी ढंगले काम हुन थालेपछि एसएसपीदेखि सहायक हवल्दारसम्म ६ हजार ४ सय १३ जना कर्मचारीको एकैपटक बढुवा भएको छ।
संगठनको इतिहासमा नै यस प्रकारको बढुवा पहिलो पटक भएको हो। सशस्त्र प्रहरीमा वर्षौंदेखि रहेको वृत्तिविकासको समस्या समाधान गर्न केही समयअघि संगठन सर्वेक्षण तथा व्यवस्थापनमार्फत केही दरबन्दी थप र केही पदहरु समायोजन भएका थिए।
यो क्रमसँगै १७ वर्षदेखि एउटै दर्जामा रहेका अधिकृतहरु एकै पटक बढुवा हुने भएका छन् भने बढुवाको समस्या पनि लगभग अन्त्य भएको छ। गत असार ३१ गते सशस्त्र प्रहरी बलले एसएसपीदेखि सहायक हवलदारसम्मको बढुवाको लागि सूचना प्रकाशित गरेको थियो।
जसअनुसार करिब १ महिनाको बीचमा एसएसपी १२, एसपी ५६, डीएसपी ८४, इन्सपेक्टर ७३, वरिष्ठ सई ५०, सई १ सय ४३ , असई ८२, वरिष्ठ हवलदार १ सय १८, हवलदार १ हजार ९ सय २५ र सहायक हवलदारमा ३ हजार ८ सय ७० गरी कूल ६ हजार ४ सय १३ जनाको बढुवा भएको छ।