काठमाडौँ। भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपिओ आज (सोमबार) देखि प्रिमियममा निष्कासन तथा बिक्री खुला भएको छ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो।
कम्पनीले जारी पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १५ प्रतिशत अर्थात् ८ करोड ५८ लाख ९ हजार ७०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता कुल ११६ रुपैयाँमा ८ लाख ५८ हजार ९७ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो।
सोमध्ये ८५ हजार ८१० कित्ता सेयर कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि, ४२ हजार ९०५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ।
यस्तै, १७ हजार १६२ कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरेको कम्पनीले बाँकी रहेको ७ लाख १२ हजार २२० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।
उक्त आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
कम्पनीको आइपिओमा भदौ ८ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्म सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा बिक्री अवधि भदौ १९ गतेसम्म लम्बिनेछ।