ओलीले आम्बासमा सचिवालय राख्नुको यस्तो छ रहस्य-Sutra News

ओलीले आम्बासमा सचिवालय राख्नुको यस्तो छ रहस्य

बुधबार, ६ भाद्र २०८०

बुधबार, ६ भाद्र २०८०
फाइल तस्बिर

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय सचिवालयको बैठक आउँदो भदौ ९ गते सिराहाको धनगढीमाई नगरपालिका–१४, चुरे क्षेत्रमा पर्ने अम्बासमा बस्दै छ ।



राजनीतिक रूपमा विशेष महìव रहेको यो स्थानमा एमालेले बैठक आयोजना गर्न लागेको हो । पञ्चायती व्यवस्था ढाल्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव पदमा चयन हुनुभएको स्थल अम्बास हो ।

यहाँस्थित एक काठको घरमा २०४६ भदौ ९–१४ गतेसम्म चलेको महाधिवेशनमा भण्डारीको नेतृत्वमा २० सदस्यीय केन्द्रीय कमिटी चयन गरिएको थियो । चौथो महाधिवेशनबाट बहुदलीय जनवादको नीति पारित भएपछि प्रजातान्त्रिक र वामपन्थी शक्तिहरू मिलेर देशमा प्रजातन्त्र बहाली भएकाले राजनीतिक परिवर्तनका लागि ऐतिहासिक स्थलका रूपमा अम्बास चिनिएको छ ।

त्यो ऐतिहासिक महाधिवेशनको स्थायी कमिटी सदस्यमा माधवकुमार नेपाल, झलनाथ खनाल, ईश्वर पोखरेललगायतका नेताहरू चयन भएका थिए भने त्यसबखत जेल जीवनबाट मुक्त भएका वर्तमान अध्यक्ष केपी शर्मा ओली केन्द्रीय कमिटी सदस्यमा चयन भएकोे सिराहा–३ का प्रतिनिधि सभा सदस्य तथा पोलिटब्युरो सदस्य लीलानाथ श्रेष्ठले बताए।

उनले भने,‘विष्णुपुरकट्टि चुरेको फेदमा उदयपुर जिल्लासँग सिमाना जोडिएको राष्ट्रिय राजमार्गदेखि १४ किलोमिटर उत्तरमा पर्ने यस स्थललाई राजनीति पर्यटकीय क्षेत्रका रूपमा धनगढीमाई नगरपालिकाले थालेको प्रयासलाई सफल बनाउन र मधेशमा एमालेको प्रभाव बढाउन सचिवालय बैठक अम्बासमा आयोजना गरिएको हो ।”

अम्बास राजनीतिक परिवर्तनका लागि ऐतिहासिक स्थान रहेकाले यसलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने क्रममा एमाले बैठक हुन लागेको नगर प्रमुख शिवशङ्कर महतोले बताए। विकट रहेको अम्बासमा भौतिक विकाससँगै राष्ट्रको ध्यान केन्द्रित गराउन विशेष पहलपछि एमालेले यो निर्णय गरेको उनले जानकारी दिए।

यहाँ अहिले मदन भण्डारी माध्यमिक विद्यालय, मदन स्मारक पार्क निर्माण भएको छ भने यसै वर्ष २५ करोड रुपियाँको लागतमा कालोपत्रे सडक निर्माण कार्य पनि अघि बढाइएको छ । जनताको बहुदलीय जनवादको अझै पनि त्यत्तिकै आवश्यकता रहेको सन्देश प्रवाह गर्ने उद्देश्यले एमाले केन्द्रीय सचिवालयको बैठक अम्बासमा बस्न लागेको उनले प्रस्टयाए।

अम्बासमा बस्ने सचिवालय बैठकको उद्घाटन पार्टी अध्यक्ष ओलीले गर्ने कार्यक्रममा मधेश प्रदेशबाट ठुलो सङ्ख्यामा पार्टीका नेता कार्यकर्तालाई भेला गराएर राजनीतिक सन्देश र यस ठाउँलाई राजनीति पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्य रहेको मधेश प्रदेशका इन्चार्ज योगेश भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट