काठमाडौँ । राष्ट्रिय मान्यताप्राप्त दलहरुबीच २ बुँदे सहमति भएको छ। यससँगै संसदमा जारी अवरोध हट्ने भएको छ।
बुधबार सिंहदरबारमा बसेको संसदमा प्रतिनिधित्व गर्ने ७ दलका नेताहरुबीचको बैठकले २ बुँदे सहमति जुटाएको हो । यससँगै संसदमा जारी अवरोध हट्ने भएको छ ।
सहमतिपत्रमा के छ?
सुन तस्करी प्रकरणको केन्द्रीय अनुसन्धान ब्यूरोले निष्पक्ष अनुसन्धान, छानबिन गरी सुन तस्करीमा संलग्न व्यक्तिहरूलाई अभियोजन गर्ने दलहरुबीच सहमति भएको छ।
‘मिति २०८० साल श्रावण २ गते विदेशबाट अवैध ढंगले पैठारी ९तस्करी० गरिएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर लगिरहेको अवस्थामा राजश्व अनुसन्धान विभागबाट पक्राउ परेको थियो । उक्त विषय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान, छानबिन गरिरहेको सर्वविदित्तै छ। केन्द्रीय अनुसन्धान ब्युरोले निष्पक्ष अनुसन्धान, छानबिन गरी सुन तस्करीमा संलग्न व्यक्तिहरूलाई अभियोजन गर्नेछ’, सहमतिपत्रमा भनिएको छ ।
इलेक्ट्रिक चुरोट (भेप) मा लुकाएर सुन तस्करी भएको घटनासहित सुन तस्करीसम्बन्धी सबै घटनाका सम्बन्धमा आयोग गठन गर्ने सहमति पनि भएको छ । तर आयोग असोज ५ मा गठन भएर त्यसपछि मात्रै कार्यान्वयनमा आउने छ ।