सुनकाण्डका मास्टरमाइण्ड झलकराम : सधैँ मालदार कार्यालय, सधैँ विवादमा-Sutra News

सुनकाण्डका मास्टरमाइण्ड झलकराम : सधैँ मालदार कार्यालय, सधैँ विवादमा

बिहिबार, ७ भाद्र २०८०

बिहिबार, ७ भाद्र २०८०

काठमाडौं । गृहमन्त्रालयअन्तर्गतको निकै संवेदनशील निकायमा पर्ने अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारीमा रहेका झलकराम अधिकारी सुन तस्करी काण्डमा मुछिएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुन तस्करीका मुख्य योजनाकारमध्येका एक दावा छिरिङसँग अधिकारीले लामो समयदेखि उठबस गर्दै आएको तथ्य भेटाएको हो ।



तस्करीका नाइके छिरिङ र अध्यागमनका महानिर्देशक अधिकारीबीचको सुन तस्करीबारे भएको कुराकानीको प्रमाणसमेत फेला पारेको हो । सीआईबीले फेला पारेको प्रमाणलाई हेर्दा, अधिकारीकै संलग्नतामा त्रिभुनव अन्तराष्ट्रिय विमानस्थलबाट नियमित सुन तस्करी हुँदै आएको देखिन्छ ।

अधिकारी र दावाबीचको सार्वजनिक संवादमा विभिन्न सामान आयात गर्ने विषयमा छलफल भएको छ । संवादका क्रममा ‘ठूलो बिजनेस सञ्चालन गर्ने र ठूलो रकम आउने’ कुराकानी गरिएको पाइन्छ ।

दुईबीच वीच्याटमा पानी तान्ने मोटर ल्याउने विषयमा छलफल भएको छ । जुन सुन तस्करीको छानबिनका क्रममा ती मेसिनहरु बरामत भएको थियो । यसले अन्य सामानमार्फत पनि सुन तस्करी भएको अर्को तथ्य उजागर गरेको छ ।

सीआईबी उच्च स्रोतले जनाएअनुसार भेटिएका तथ्यहरुले दुईबीच कुन सामाग्रीमा सुन लुकाएर ल्याउने भन्ने छलफलपश्चात सुन नेपाल भित्र्याइएको पाइन्छ ।

अध्यागमनका महानिर्देशक अधिकारीले सुन भित्र्याउँदा मोटै रकम बुझेको पनि तथ्यहरुले स्पष्ट गरेका छन् । सीआईबीका उच्च अधिकारीले जानकारी दिएअनुसार अधिकारी र दावाबीच केही वर्षदेखि नै सम्बन्ध रहेको देखिन्छ । सीआईबीले ५ साउन २०७९ मै संवाद भएको समेत प्रमाण फेला पारेको छ ।

सधैँ मालदार कार्यालय, सधैँ विवादमा

झलकराम अधिकारी विवादमा मुछिएको यो पहिलो घटना भने होइन, यसअघि पनि उनी पटक–पटक विभिन्न खालका विवादमा मुछिँदै आएका थिए ।

पोखरा स्थायी घर भएका अधिकारी झण्डै एक दशकअघि आफ्नै गृहनगर तत्कालिन पोखरा उपमहानगरपालिकाको कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । तत्कालिन समय उनी बतास समूहसँग लिनदेन गर्दैगर्दा अख्तियारको फन्दामा परेका थिए । तर, अख्तियारमा मुद्दा चलिरहेकै बखत बढुवा भएर उनी तत्कालिन समय जिल्ला विकास समिति, धनुषाको प्रमुख भएर गए ।

मुद्दा चलिरहेकै बखत तत्कालिन समय उनको बढुवा रोचक देखिन्छ । जिल्ला विकास समिति, धनुषाको प्रमुख हुँदै योबीचमा अधिकारीले थुप्रै कार्यालय चहारिसकेका छन् । अधिकारी योबीचमा थुप्रै महत्वपूर्णं विभागको पनि जिम्मेवारीमा पुगेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारको अर्थसचिव, सहकारी विभागको रजिष्ट्रार, वातावरण विभागको महानिर्देशक, ठूला करदाता कार्यालयको प्रमुख हुँदै अधिकारी राजस्व अनुसन्धान विभागको महानिर्देशकसमेत बन्न पुगेका थिए । झण्डै सात महिना राजस्व अनुसन्धान विभागको महानिर्देशक बनेका अधिकारी राजस्वमा छँदा पनि निकै बदनामित बनेका थिए ।

कयौं व्यवसायिक तथा व्यापारिक फर्महरुबाट करोडौं रकम उठाएको भन्ने तथ्यहरु बाहिरिएका थिए । विशेषगरी मोटो रकम आर्जन हुने क्षेत्रमा उनले लेनदेन गरेको कुरा तत्कालिन समय बाहिरिएको थियो । तर, राजस्व अनुसन्धानमा बदनामित अधिकारी फेरि बढुवा शैलीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगे ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेको छोटो अवधिमै गृहमन्त्रालय रित्त रहेको बखत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मनाएर अधिकारी अध्यागमन प्रमुखको रुपमा भित्रिएका थिए । अधिकारी गृहमन्त्रीको रुपमा नारायणकाजी श्रेष्ठ आउनुपूर्व नै २०७९ फागुन १७मा अध्यागमन प्रमुख भएर गएका थिए । अध्यागम प्रमुख बनेर जाँदै गर्दा अधिकारीले कतिपयलाई आफू माओवादी केन्द्रनिकटको रुपमा समेत बताउने गरेको बुझिन्छ ।

लाभअनुसार पार्टी

कर्मचारी संयन्त्रमा यस्ता केही पात्रहरु छन्, जो समयअनुसार निकै छिटो रंग फेर्न माहिर हुन्छन् । अधिकारी त्यस्तै पात्र हुन्, जुन ‘छेपारो’ शैलीका छन् । योबीचमा सरकारमा जो आउँछ उही निकट हुँदै अधिकारीले थुप्रै विभागहरु चहारिसकेका छन् । उनको विभाग चहारेको यात्रा हेर्दा जोकोही पनि अच्चम्मित पर्दछ ।

पछिल्लो समय उनी माओवादी केन्द्र निकटको बन्दै अध्यागमन प्रमुख बन्न पुगेका हुन् । तर, उनी यसअघि कहिले कांग्रेस त कहिले एमाले बन्ने गरेको भेटिन्छ । सरकारमा जो हुन्छ उही निकट बन्दै विवादबाट जोगिने र बढुवा तथा सरुवा हुने तरिकालाई अधिकारीले अबलम्बन गरेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट