वैदेशिक व्यापार घट्यो : आयात र निर्यात दुवैमा गिरावट-Sutra News

वैदेशिक व्यापार घट्यो : आयात र निर्यात दुवैमा गिरावट

बिहिबार, ७ भाद्र २०८०

बिहिबार, ७ भाद्र २०८०

काठमाडौं । चालु आर्थिक वर्ष (आव)को पहिलो महिनामा वैदेशिक व्यापारमा गिरावट आएको छ । भन्सार विभागका अनुसार साउन महिनामा एक खर्ब २९ अर्ब २३ करोडको वस्तु आयात भएको छ । जुन गत आवको साउन महिनाको तुलनामा एक दशमलब ५६ प्रतिशतले कम हो । गत वर्षको साउनमा एक खर्ब ३१ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो ।



त्यस्तै, सार्वजनिक विवरणअनुसार गत आवको पहिलो महिनाको तुलनामा यस आवको सोही अवधिमा निर्यात आठ दशमलव ६५ प्रतिशतले घटेको छ । गत आवको शुरुको महिनामा १४ अर्ब ० करोड ९७ लाख रुपैयाँको निर्यात भएकोमा चालु आवको समीक्षा अवधिमा १३ अर्ब ५२ करोड ८६ लाख ५६ हजार रुपैयाँको निर्यात भएको छ । विभागका अनुसार यो अवधिमा कूल वैदेशिक व्यापारमा निर्यातको अनुपात नौ दशमलव ४ प्रतिशत रहेको छ ।

चालु आवको पहिलो महिनामा आयात र निर्यात दुवैमा आएको गिरावटले समग्र वैदेशिक व्यापार तथा व्यापार घाटा समेत घटेको छ । सो कुल वैदेशिक व्यापारको आकार एक खर्ब ४२ अर्ब ७६ करोड रुपैयाँमा सीमित हुन पुगेको छ । यो गत आवको सोही महिनाको तुलनामा दुई दशमलब २८ प्रतिशत कम हो । नेपालको वैदेशिक व्यापारमा निर्यातको हिस्सा नौ दशमलब ४८ प्रतिशत र आयातको हिस्सा ९० दशलब ५२ प्रतिशत रहेको छ ।

चालु आवको पहिलो महिनामा सात अर्ब ३४ करोड ७१ लाख २५ हजार रुपैयाँ बराबरको डिजेल आयात भएको छ । यो आयातित वस्तु मध्येको सबैभन्दा बढी बराबरको हो । त्यस्तै, सो अवधिमा पाँच अर्ब ४४ करोड ७० लाख ७६ हजार रुपैयाँको पेट्रोल आयात भएको विभागले जनाएको छ ।

त्यस्तै, चालु आवको पहिलो महिनामा निर्यातजन्य वस्तुमा सबैभन्दा अगाडि अलैँची रहन पुग्यो । विभागका अनुसार सो अवधिमा नेपालबाट ९६ करोड ४६ लाख छ हजारको अलैँची निर्यात भयो भने ९५ करोड ६६ लाख ३९ हजार रुपैयाँ बराबरको उनीको गलैँचा तथा कार्पेट निर्यात भएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट