काठमाडौं । एकीकृत समाजवादी केन्द्रीय समिति बैठक मंगलबारदेखि जारी छ । बालकुमारीस्थित कान्तिपुर गार्डेन ब्यांक्वेटमा जारी बैठकमा केन्द्रीय समितिका सदस्यहरुले धारणा राखिरहेका छन् । पार्टी मातहतका कमिटी तथा जनवर्गीय संगठनले गरेका कार्यप्रगतिको समीक्षा गरिने बैठकमा पार्टीका भावी योजनाबारे आवश्यक रणनीति तय गरी त्यसलाई अनुमोदन गर्ने तयारी गरिएको बताइएको छ ।
तर, पार्टीको भावी योजनाबारे केन्द्रीय समितिकाे बैठक चल्दै गर्दा एकीकृत समाजवादीको सुर्खेत जिल्ला भने खाली भएको छ । केन्द्रीय समिति बैठककै बीच सुर्खेतको जिल्ला कमिटीका अध्यक्ष मोहन बडुवालसहित ६२ जना नेता एमाले प्रवेश गरेका छन् ।
तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) छँदा जिल्ला सचिवको रुपमा रहेका बडुवाल बिहीबार एमाले प्रवेश गरेका हुन् । एमाले पार्टीका महासचिव शंकर पोरखेलले उनीहरुलाई पार्टी प्रवेश गराएका थिए ।
बडुवालसँगै जिल्लाबाट प्रदेशमा प्रतिनिधित्व गर्ने सबै प्रदेश सदस्यहरू, जिल्ला कमिटीका सबै सदस्यहरू र जिल्लास्थित विभिन्न जनवर्गीय संगठनको समूह पनि एमालेमा समाहित भएको छ ।
केन्द्रीय कमिटी बैठकले सांगठनिक विषयमा महत्वपूर्णं निर्णय गर्दै गर्दा जिल्लाहरु खाली भएको घटनाले एकीकृत समाजवादीलाई ठूलो धक्का लागेको देखिन्छ । यो घटनाले केन्द्रमा ठूलो नैराश्यतासमेत ल्याउन सक्ने अनुमान गर्न सकिन्छ ।