महिला टी२० श्रृंखलामा नेपाल पराजित, फाइनलको अवसर भने पाउने-Sutra News

महिला टी२० श्रृंखलामा नेपाल पराजित, फाइनलको अवसर भने पाउने

शुक्रबार, ८ भाद्र २०८०

शुक्रबार, ८ भाद्र २०८०

काठमाडौँ। चार देश सम्मिलित टी २० सिरिजमा नेपाली महिला क्रिकेट टिम समूह चरणको आफ्नो अन्तिम खेलमा पराजित भएको छ।



पराजय भोगे पनि नेपाल फाइनलमा पुग्न सफल भयो। दुई दुई खेलमा जित निकालेका नेपाल, हङकङ र मलेसियाको समान ४-४ अंक हुँदा रनरेटमा अघि रहेका नेपाल र हङकङ फाइनलमा पुगे। फाइनल शनिबार हुनेछ।

नेपाललाई शुक्रबार घरेलु टिम मलेसियाले डिएल मेथडमा ६ विकेटले पराजित गर्‍यो।

वर्षाले प्रभावित खेलमा १८ ओभरमा ८५ रनको लक्ष्य मलेसियाले ४ विकेट गुमाएर १६।२ ‌ओभरमा पूरा गर्यो।

मलेसियाका लागि अइना हसिमले नटआउट ३७ रन तथा इजाती इम्माइलले २१ रनको योगदान दिए।

बलिङमा नेपालकी पूरा महतो, सीता राना मगर र रुबिना क्षेत्रीले १-१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १८ ओभरमा ८३ रनमा अलआउट भयो। नेपालका लागि कप्तान रुबिना क्षेत्रीले २३ रन, इन्दू बर्माले २० रन र काजल श्रेष्ठले १८ रनको योगदान गरे।

बलिङमा मलेसियाकी अइना हसिम, महिराह इजाती इम्माइल र नुर समादले २-२ विकेट लिए।

यसअघि आफ्नो पहिलो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कुवेतलाई ३४ रनले हराएको थियो।

सिरिजपछि नेपालले आइसिसी महिला टी-२० विश्वकप एसिया छनोट खेल्नेछ।

मलेसियामा हुने प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित ६ टिमले प्रतिस्पर्धा गर्दैछन्। नेपाल, बहराइन, भुटान, मलेसिया, कतार र युएई समूह ‘ए’ मा छन्।

प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा अगस्ट ३१ मा आयोजक मलेसियासँग खेल्नेछ।

समूह ‘बी’ मा ५ टिम छन्। प्रतियोगिताबाट दुई टिम विश्व छनोटमा पुग्नेछन्।

विश्वकप छनोटमा १० टिम सहभागी हुँदा २ टिमले सन् २०२४ मा बंगलादेशमा हुने महिला टी(२० विश्वकपमा स्थान पक्का गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट