काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा ‘एक सय रुपैयाँ अधिकृत पूँजीमै कम्पनी दर्ता गर्न सकिने कार्यक्रम ल्याएको थियो । आर्थिक वर्षको पहिलो महिनाबाटै कार्यान्वयनमा आउने बताइएको उक्त कार्यक्रम भदौ लाग्दासमेत कार्यान्वयनमा आएन । उद्यमीमैत्री भनेर चौतर्फी स्वागत गरिएको उक्त कार्यक्तम कार्यान्वयनमा नहुँदा नयाँ उद्यमीहरु भने निराश बनेका छन् ।
‘नयाँ कम्पनी दर्ता गर्दा र कम्पनीको पुँजी वृद्धि गर्दा शुल्क लाग्दै आएकोमा अबदेखि कुनै पनि शुल्क वा दस्तुर नलाग्ने व्यवस्था मिलाइनेछ । न्यूनतम सय रुपैयाँ मात्र अधिकृत पुँजी घोषणा गरेर पनि कम्पनी खोल्न सक्ने कानुनी व्यवस्था गरिनेछ’, बजेटको बुँदा नम्बर ७० मा भनिएको छ । तर, सरकारले बजेटमा रहेको सो कार्यक्रम कार्यान्वयनको लागि अहिलेसम्म राजपत्रमा सूचना प्रकाशित पनि गरेको छैन ।
कम्पनी दर्ताको लागि कानुनी व्यवस्थामा संशोधनको लागि कम्पनी रजिष्ट्रारको कार्यालयले आवश्यक प्रस्ताव मन्त्रीपरिषदमा तीन महिना अगाडि नै पठाएको थियो । सरकारले कम्पनी दर्ता सम्बन्धी नयाँ व्यवस्था बजेटमा राखेपनि सूचना राजपत्रमा प्रकाशित नभएकाले कार्यान्वयनमा आउन नसकेको कम्पनी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार महेश बरालले बताएका छन् । कम्पनी रजिष्ट्रारको कार्यालयले बजेटमा भएको सो व्यवस्था तत्काल कार्यान्वयन गर्न नसकिने भनेर साउन ११ गते सूचना नै प्रकाशन गरेको थियो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले कम्पनी दर्ता सम्बन्धी गरेको नयाँ व्यवस्थाले कम्पनी दर्ताको विद्यमान झन्झटिलो व्यवस्था हटाएर उद्यममैत्री वातावरणको लागि सहयोग पुर्याउने बताएका थिए ।
विद्यमान अवस्थामा कम्पनी ऐन, २०६३ अनुसार कम्पनी दर्ता गर्दा न्यूनतम १ लाखसम्म अधिकृत पूँजी भएको कम्पनीका लागि १ हजार, १ लाखदेखि ५ लाखसम्म अधिकृत पूँजी भएको कम्पनीका लागि ४ हजार ५ सय, ५ लाखदेखि २५ लाख रुपैयाँसम्म पूँजी भएको कम्पनीका लागि ९ हजार ५०० का दरले दस्तुर बुझाउनुपर्ने व्यवस्था छ । अधिकतम् २५ लाखदेखि १ करोडसम्म पूँजी भएको कम्पनीका लागि १६ हजार रुपैयाँ दस्तुर तोकिएको छ ।
अर्थसचिव अर्जुन पोखरेलले सरकारले बजेटमा व्यवस्था गरेको कार्यक्रम कार्यान्वयनका लागि कानून नै संशोधन गर्नुपर्ने भएकाले केही समय लाग्ने बताएका छन् । तर, सबैजसो कानून निर्माणमा कछुवा गतिमा काम गर्ने सरकारले एक सय पुँजीमा कम्पनी दर्ताको व्यवस्थाका लागि कानून कहिलेसम्म निर्माण गर्छ भन्ने अनुमान गर्न सकिने अवस्था छैन ।