संसदीय समितिका लागि दलहरूले टुंग्याए सभापतिकाे उम्मेदवार, कुन दलबाट काे ?-Sutra News

संसदीय समितिका लागि दलहरूले टुंग्याए सभापतिकाे उम्मेदवार, कुन दलबाट काे ?

आइतबार, १० भाद्र २०८०

आइतबार, १० भाद्र २०८०
फाइल तस्बिर

काठमाडाैं । ‘मिनी पार्लियामेन्ट’को रूपमा रहेको संसदको विषयगत समितिकाे सभापतिकाे लागि दलहरूले उम्मेदवार टुंग्याएका छन् ।



प्रतिनिधिसभाको निर्वाचन भएको करिब नौ महिनापछि संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखले मातहत गठित १० वटै विषय समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ः०० बजेका लागि निर्धारण गरेको घोषणा गरेअनुरूप निर्वाचन प्रक्रिया अघि बढेको हो।

संसदीय समितिका सभापतिको निर्वाचनमा सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेले साझा उम्मेदवार उठाउने निर्णय गरेका छन् । समितिमध्ये सत्तापक्ष नेपाली कांग्रेसले चार, नेकपा (माओवादी केन्द्र)ले दुई, नेकपा (एमाले) तीन, नेकपा (एकीकृत समाजवादी) एक, जनमत पार्टीले एक सिट पाउने गरी भागबन्डा भइसकेको छ। सत्ता साझेदारहरू र प्रमुख प्रतिपक्षीले त्यही अनुसार उम्मेदवारी दर्ताको तयारी गरेका छन्।

सत्तारूढ कांग्रेसबाट राज्यव्यवस्था समिति सभापतिमा रामहरि खतिवडा, अर्थ समितिमा सन्तोष चालिसे र कृषि समितिको सभापतिमा आरजू देउवाको उम्मेदवारी टुंगो लागेको हो ।

यस्तै, माओवादी केन्द्रबाट विकास समिति सभापतिमा माधव सापकोटा र कानुन समितिमा विमला सुवेदीको उम्मेदवारी तय भएको छ ।

यस्तै, अन्तर्राष्ट्रिय समितिमा जसपाबाट राजकिशोर यादवकाे नाम टुंगाे लागेकाे छ  भने उद्योग समितिमा जनमत पार्टीबाट अब्दुल खान र शिक्षा समितिमा एकीकृत समाजवादीबाट भानुभक्त जोशीको उम्मेदवारी टुंगो लागेको हो ।

एमालेले पाएका तीन समिति सभापतिमा सार्वजनिक लेखा समितिको सभापति मोरङबाट निर्वाचित ऋषिकेश पोखरेलले उम्मेदवारी दिने भएका छन्। महिला तथा सामाजिक मामिला समितिको सभापतिको उम्मेदवार रौतहटबाट निर्वाचित किरणकुमार साहलाई बनाइने भएको छ।यस्तै, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) समितिको सभापतिका लागि एमालेले विमला घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

प्रतिनिधिसभाका १० र दुई वटा संयुक्त समितिका सभापति चयन भएका छैनन् । प्रतिनिधिसभाका समितिको गठन वैशाख १५ मा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट