काठमाडौं। चार दलको समाजवादी मोर्चाले भदौ १२ गते बुटवलमा मोर्चाको प्रदेश समिति घोषणा सहित सन्देशसभा गर्ने भएको छ । मोर्चाको तर्फबाट आइतबार पत्रकार सम्मेलन गरी सभाबारे जानकारी दिइएको हो ।
लुम्बिनीको घोषणासभाको व्यवस्थापनको जिम्मा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लिएको छ । मोर्चामा आवद्ध दलहरू नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टीले सभाको तयारी गरिरहेका छन् ।
भदौ १२ गते बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने प्रदेशस्तरीय बृहत सन्देशसभामा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव नेपाल, नेपाल कम्युनिस्ट पार्टीका महासचिब नेत्रविक्रम चन्द विप्लव, जसपा अध्यक्ष उपेन्द्र यादवलगायतका नेता सहभागी हुने मोर्चाले जनाएको छ ।
पत्रकार सम्मेलनमा नेपाल कम्युनिस्ट पार्टी पोलिटब्यूरो सदस्य एवं पूर्वी लुम्बिनी ब्यूरो इन्चार्ज बसन्त सीले देशको राजनीतिक अवस्था फेरिएको कारण देशमा बिगतमा भएका आन्दोलनको उपलब्धिमाथि प्रहार हुने सम्भावना देश तथा विदेशी शक्तिको चलखेल बढ्न लागेको कारण मोर्चाको आवश्यकता रहेको बताए।
नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्रका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज हितमान शाक्यले मोर्चाको मुख्य उद्देश्य सरकारको कार्यक्रमलाई सहयोग गरेर जाने भएको बताउँदै तत्काल पार्टी एकताका लागि मोर्चा नभएको र कालान्तरमा पार्टी एकताको दिशामा उन्मुख भएको समेत बताए ।