काठमाडौं। नेकपा एकीकृत समाजवादीले पार्टीको भातृसंगठन युवा संघ, नेपालभित्रको विवाद समाधान गर्न निर्देशन दिएको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको एकीकृत समाजवादीको सचिवालय बैठकबाट समानान्तर भेला नगर्न र संगठनभित्रको विवाद समाधान गर्न निर्देशन दिइएको हो ।
युवा संघको इन्चार्जले पार्टीको निर्देशन संगठनको बैठकमा सुनाउने र लागु गर्ने एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । युवा संघको समस्या समाधानका लागि सचिवालयले अरू आवश्यक निर्णय गरेको उनले उल्लेख गरे ।
शनिबार काठमाडौंका दुई फरक स्थानमा युवा संघका दुई गुटबाट भेला आयोजना गरिएको थियो । सो संगठनका अध्यक्ष नरेश शाही र उपाध्यक्ष नितेश पौडेलले फरक–फरक भेला आयोजना गरेपछि पार्टीले हस्तक्षेप गर्दै समाधानको पहल गरेको हो ।