वीरगञ्ज । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारीहरूलाई कारबाही गर्न कुनै ताकत र तगारोले नछेक्ने बताएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित भवन उदघाटन तथा पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा आइतबार बिरगंज आउनुभएका श्रेष्ठले सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा गर्न भ्रष्टाचारी र दलालहरूविरुद्ध सरकार निर्मम भएर लागेको बताए ।
प्रेस सेन्टर नेपाल, पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा श्रेष्ठले राजनीतिक परिवर्तनलाई जनताले आफ्नो आर्थिक-सामाजिक समृद्धिका रूपमा अनुभूति गर्न सक्नुपर्ने र वर्तमान सरकारले त्यही ध्येयबाट काम गरिरहेको बताए । समृद्धिको सर्त सुशासन भएकोले सरकारले भ्रष्टाचार, अपराध, ठगी जस्ता गतिविधि नियन्त्रणलाई मुल प्राथमिकता बनाएको समेत उनले बताए ।
सुराकी नाममा मन्त्री-सचिवले लिइरहेको खर्च कटौती गरिएको, अनुचित लेनदेन नियन्त्रण गर्न आयोग तथा कानुन निर्माण गरिएको र प्रहरी संगठनभित्र अवाञ्छित चलखेल भयो भन्ने गुनासोलाई सम्बोधन गर्न सरुवा, बढुवा तथा पदस्थापनामा मापदण्ड निर्धारण गरिएको गृहमन्त्री श्रेष्ठले बताए । साथै आफ्नै नागरिकलाई नक्कली शरणार्थी बनाएर विदेश पठाउने जस्तो संगठित अपराधलाई कानुनी कारबाहीको दायरामा ल्याइसकिएको समेत उनले बताए । जुनसुकै अपराध घटनाको अनुसन्धानलाई जरैसम्म पुरेर अपराधीहरूलाई कठघरमा ल्याउने उनकाे भनाइ छ ।
प्रहरी निकाय(सीआइबी)ले सुन तस्करी प्रकरणको छानबिन र अनुसन्धान गरिरहेको र अनुसन्धानले उचित निष्कर्ष दिने विश्वास उनले व्यक्त गरे । त्यस्तै सहकारी संस्थाहरुमा देखिएका समस्याबारे समेत गहिरो अनुसन्धान भैरहेको उनले बताए । पीडित पक्षसँग भएको सम्झौताअनुसार गौर हत्याकाण्डको अनुसन्धानलाई जारी नै राखिएको जानकारी गृहमन्त्री श्रेष्ठले दिए ।
गृहमन्त्री श्रेष्ठले आइतबार नै जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित भवनको उद्घाटन गरेका थिए । त्यसपछि वीरगञ्जस्थित टाउन हलमा नेकपा माओवादी केन्द्रले आयोजना गरेको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा सहभागी भएका थिए ।