ऋण असुलीमा कडाई गर्दै राष्ट्र बैंक : नियमित साँवा ब्याज नतिर्नेले अन्य सुविधा नपाउने-Sutra News

ऋण असुलीमा कडाई गर्दै राष्ट्र बैंक : नियमित साँवा ब्याज नतिर्नेले अन्य सुविधा नपाउने

मंगलबार, १२ भाद्र २०८०

मंगलबार, १२ भाद्र २०८०

काठमाडौं । ऋण असुली प्रक्रियामा राष्ट्र बैंकले कडाइको नीति लिएको छ । सोमबार बैंक तथा वित्तीय संस्थाहरुका लागि एकीकृत निर्देशन जारी गर्दै केन्द्रीय बैंकले ऋण असुलीमा केही कडाइ गरेको हो ।



केन्द्रीय बैंकको नयाँ नीतिअनुसार निष्कृय वर्गमा वर्गीकरण भएको कर्जा नियमित साँवा ब्याज र किस्ता भुक्तानी गरेको छ महिनापछि मात्रै असल वर्गमा स्तरोन्नति हुने भएको छ । यो व्यवस्था कर्जा पुनर्संरचना र पुनर्तालिकीकरण सुविधा पाएकाको हकमा भने लागू हुने छैन ।

हाल भाखा नाघेको बक्यौता रकम भुक्तानी गरे लगत्तै त्यस्तो कर्जा असल वर्गमा स्तरोन्नति हुने व्यवस्था थियो । लगातार ६ महिनासम्म कर्जाको किस्ता वा ब्याज नियमित भएको अवस्थामा मात्र असल वर्गमा कर्जा स्तरोन्नति गरी सोही बमोजिम कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्ने राष्ट्र बैंकको सर्कुलर कुनै पनि त्रैमाशको अन्त्यमा एक किस्ता तिर्दै असल वर्गको कर्जामा स्तरोन्नति गर्ने अहिलेको अभ्यास रोकिने छ ।

यस्तै, राष्ट्र बैंकले निष्कृय वर्गमा वर्गीकरण भएका कर्जा सोही वर्गभित्र स्तरोन्नति हुनका लागि आवश्यक प्रावधान पूरा गरेको मितिले ६ महिना पश्चातमात्र स्तरोन्नति गरी सोही बमोजिम कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछ ।

यस्तै, कुनै ऋणी व्यक्तिले एक भन्दा बढी शीर्षकमा कर्जा लिएको भएमा कुनै एक कर्जा निष्कृय वर्गमा वर्गीकरण भएमा उक्त ऋणीले लिएका अन्य सम्पूर्ण असल वर्गमा वर्गीकृत कर्जा वक्यौतालाई कम्तिमा सूक्ष्म निगरानी वर्गमा वर्गीकरण गर्नु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

साथै, कुनै समूहभित्रको कुनै एक ऋणीले लिएको कर्जा निष्कृय वर्गमा वर्गीकरण भएमा समुहमा रहेका अन्य ऋणीहरुको उक्त ऋणीसँगको व्यावसायिक अन्र्तसम्बन्धबाट पर्ने असरको विश्लेषण गरी उक्त ऋणीबाट प्रत्यक्ष रुपमा प्रभावित हुने समुहका अन्य ऋणीहरुलाई समेत सोही निष्कृय वर्गमा वर्गीकरण गर्नु पर्नेछ ।

समुहका पाँच ऋणीहरुमध्ये कुनै एक ऋणी कमसल वर्गमा वर्गीकरण भएमा बाँकी रहेका चार ऋणीमध्ये उक्त ऋणीबाट प्रत्यक्ष रुपमा प्रभावित हुने एक ऋणी भएमा सो ऋणी नियमित भएको अवस्थामा समेत कमसल वर्गमा वर्गीकरण गर्नुपर्नेछ ।

कमसल वर्गमा वर्गीकरण भएको ऋणीबाट प्रत्यक्ष रुपमा प्रभावित नभएका अन्य तीन ऋणीलाई भने कमसल वर्गमा वर्गीकरण गर्न बाध्य हुने छैन । राष्ट्र बैंकले गरेको नयाँ व्यवस्था आगामी माघदेखि लागू हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट