काठमाडौँ। नेपाली कांग्रेसको रूपान्तरण अभियान टोलीले बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आज बिहान भेटघाट गरेको छ।
ललिता निवास प्रकरण, भुटानी शरणार्थी प्रकरण र सुन प्रकरणमा संलग्नहरूलाई कारबाहीको माग गर्दै अभियानले प्रधानमन्त्रीलाई भेटेको हो।
ललिता निवास प्रकरणमा निष्पक्ष अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ, सो प्रकरणमा दोषी कसैलाई पनि उन्मुक्ति नदिन प्रधानमन्त्रीलाई आग्रह गरिएको छ।
यस्तै, नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान र कारबाहीको अन्तिम बिन्दुसम्म पुगेर संलग्नलाई कारबाही गर्नुपर्ने बताएका थिए।
सुनकाण्डमा आग्रह पूर्वाग्रह नराखी अनुसन्धान गर्नुपर्ने र नाम जोडिएका माओवादी नेता र संलग्नहरूलाई कारबाहीको दायरामा ल्याउन माग गरिएको छ।
देशमा सुशासन कायम गर्न भ्रष्टाचारमा संलग्न जुनसुकै तहको नेता भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने माग रूपान्तरण अभियानले गरेको छ।