काठमाडौँ। महेन्द्र मोरङ क्याम्पसका क्याम्पस प्रमुख बाबुराम तिम्सिना ४ जना शिक्षकसहित आफ्नो कार्यकक्षमा थुनिएका छन्।
विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) र विद्यार्थीहरुले क्याम्पस प्रमुख तिम्सिना, सहायक क्याम्प्स प्रमुख शिवराम चौधरी, बिबिएसको कोअर्डिनेटर रामनारायण दास, बिबिएमका कोअर्डिनेटर इन्द्रनारयण देवलाई सोमबार कार्यकक्षमा थुनिदिएका हुन्।
इन्टर्नसिप गरेको रिपोर्टको शुल्क कलेज प्रशासनले आफूखुशी बढाएको भन्दै विद्यार्थीहरूले कलेज प्रमुखसहित विभागीय प्रमुख रहेका शिक्षकहरुलाई कार्यकक्षमा थुनेका हुन्।
इन्टर्नसिप रिपोर्टको शुल्क यसअगाडि १ हजार रुपैयाँ क्याम्पसले लिँदै आएको थियो। केही दिनअघिदेखि क्याम्पस प्रशासनले आफूखुशी शुल्क बढाएर ३ हजार रुपैयाँ बनाएपछि शिक्षकहरुलाई कार्यकक्षमा थुनिदिएको स्ववियू सभापति जोसवन पौडेलले जानकारी दिए।
उनका अनुसार विद्यार्थीहरूलाई जानकारी नदिइ क्याम्पस प्रशासनले आफूखुशी शुल्क वृद्धि गरेपछि यस्तो कदम चलिएको हो। यसअघि निर्णय सच्याउनसमेत आग्रह गरेको उनको भनाई थियो।
विद्यार्थीहरुले इन्टर्नसिप रिपोर्टको साविकको शुल्क कायम गरिनुपर्ने भन्दै यसअघि २४ घण्टाको समय दिएको थियो। क्याम्पसले शुल्क नघटाएपछि तालाबन्दी गरेको विद्यार्थी नेताहरुले बताए। त्यसपछि विद्यार्थीहरुले क्याम्पस प्रमुखसहित शिक्षकहरुलाई कार्यकक्षमा थुनेका हुन्।