काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन तोड्ने षडयन्त्र सफल नहुने बताएका छन् । माओवादी केन्द्रको उपत्यका विशेष प्रदेश समितिले मंगलबार काठमाडौंमा गरेको प्रशिक्षण कार्यक्रममा उहाले गठबन्धन तोड्ने धेरै कसरत भइरहेको भन्दै उक्त कसरत सफल नहुने बताएका हुन् ।
गठबन्धन तोड्न खोज्नेहरु आफै जनताको नजरमा गिदै जाने उनले बताए । प्रचण्डले माओवादी पार्टीलाई रुपान्तरण गरेर मात्रै देश रूपान्तरणको आधार तयार पार्न सकिने जिकिर गरे ।
देश रूपान्तरणको नयाँ संकल्पसहित एउटा अभियानको सुरूवात गरिएको भन्दै प्रचण्डले थप तीव्रता दिएर अघि बढ्ने धारणा राखे । उनले भुटानी शरणार्थी प्रकरण, सुन प्रकरण, तस्करीको जालो तोड्ने काम अगाडि बढेकै कारण घेराबन्दीका साथै अनेकौँ कुप्रचार गरिएको बताए ।
सरकारले मुलुक र जनताको हितमा विभिन्न कदम अगाडि बढाएको उल्लेख गर्दै उनले अब छिट्टै जनताले त्यसको प्रतिफल लिन पाउने बताए ।
त्यस्तै, उपत्यका विशेष प्रदेशमा इन्चार्ज वर्षमान पुनले सरकार र पार्टीका कामलाई व्यवस्थित गर्दै पार्टी रुपान्तरण अभियानमा जुट्नु अहिलेको आवश्यकता भएको बताए । उनले पार्टीभित्र मतभेद, आलोचना भए पनि गुटगत राजनीति गर्न नपाइने भन्दै गुटबन्दी गर्नेलाई अनुशासनको कारबाही हुने बताए ।