सांसदको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले भने– म आफैंमाथि अनुसन्धान गर्नुपरे पनि बाधा पुर्‍याउँदिन-Sutra News

सांसदको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले भने– म आफैंमाथि अनुसन्धान गर्नुपरे पनि बाधा पुर्‍याउँदिन

मंगलबार, १२ भाद्र २०८०

मंगलबार, १२ भाद्र २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारको अनुसन्धानका क्रममा प्रधानमन्त्रीकै नाम आए पनि छानबिन गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारका काण्डमा जो सुकैको संलग्नता देखिए पनि अनुसन्धान गर्न आफूले निर्देशन दिएको दाबी गरे।



मंगलबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले भ्रष्टाचारको विषयमा प्रधानमन्त्रीमाथि प्रश्न गरेका थिए । उनले भ्रष्टाचारका काण्डहरु खोलेर दलहरुलाई तर्साउने र कुर्सी जोगाउने प्रर्यत्न प्रधानमन्त्रीबाट भएको बताएका थिए ।

“नक्कली भुटानी शरणार्थीको फाइल खोलेर कांग्रेसलाई साइजमा राख्नुभयो, ललिता निवासमार्फत एकीकृत समाजवादीलाई साइजमा राख्नुभयो, गौर हत्याकाण्डमार्फत जसपालाई, अब गिरीबन्धुमार्फत नेकपा एमालेलाई साइजमा राख्न ट्राई गर्दै हुनुहुन्छ”, उनले भनेका छन्, “आफ्नो कुर्सी बचाउन दाउपेच गरेर कामले जनताको मन जितेर कुर्सीको आयु लामो बनाउन सकिँदैनथ्यो ?”

जसको जवाफमा प्रधानमन्त्री प्रचण्डले आफूले निष्पक्ष र पारदर्शी बनाउँदै भ्रष्टाचारलाई कडाइका साथ कारबाही गर्ने काम अघि बढाएको भन्दै कसैलाई बचाउन र वा अप्ठारोमा पार्ने काम नगरिएको दाबी गरे। सरकार टिकाउनका लागि भ्रष्टाचारका फाइल नखोजेको पनि उनको भनाइ थियो ।

“सरकारका यी काम कुनै कुर्सी टिकाउनका लागि होइन । बरु देश र जनतामा राजनीतिक प्रणाली प्रति नै वितृष्णा छाएको, केही हुन्न, सबै उस्तै हुन् भन्ने निराशावादी भाष्य निर्माण गर्न खोजिएको परिस्थितिलाई चिर्न र सरकारले एकपछि अर्को राम्रो काम गर्दै आएको कुरा स्थापित गर्न पनि गरिएको छ”, उनले भनेका छन्, “भुटानी शरणार्थी प्रकरणलगायतका सबै घटनामा राज्यले दबाबरहित ढंगले निष्पक्ष छानबिन अघी बढाएकै कारण अहिले जनतामा सुशासन सम्भव छ भन्ने एउटा नयाँ आशा पलाएको हो ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट